बैशाख ०४, २०८२, बिहीबार

पाचाैँ टाइगर कप आजदेखि


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा पाचाैँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । टाइगर गुप्र अफ पोखराको आयोजनामा हुने महिला र पुरुष भलिबल च्याम्पियनसिप माघ १९ गतेसम्म सत्र्चालन हुने हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डबीच हुनेछ । खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तीन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ ।

खेल तालिकाअनुसार आजै दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा हुनेछ । त्यसपछि १:३० बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा भने सशस्त्र प्रहरी बलको एपीएफ, न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब छन् ।

विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ । २०७७ सालदेखि टाइगर कप भलिबल पोखरा रंगशालामा हुँदै आएको छ ।

Copyright © 2024 | All rights reserved.