बैशाख ०४, २०८२, बिहीबार

आज ७२औँ विश्व कुष्ठरोग दिवस देशभर मनाइँदै


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । देशभर आज ७२औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोगलाई हराउनुहोस्, कलंक अन्त्य गर्नुहोस्, र मानसिक स्वास्थ्यको लागि वकालत गर्नुहोस्’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।

कुष्ठरोग प्रभावितप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।

यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने महाशाखाले जनाएको छ ।

रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ ।

नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा यो रोग फेला पर्छ । गत वर्ष मात्रै २५ सय २२ जना नयाँ बिरामी फेला परेको शाखाले जनाएको छ ।

कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचर्क्याइँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।

कुष्ठरोगका यी दुईवटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्याइन्छ ।

पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरु हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी हुन्छ ।

कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन ।

Copyright © 2024 | All rights reserved.