0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेभिडफल्समा भइरहेको अवरोध हटाई तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेभिडफल्स महानगरपालिका आँफैले कानून बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
छोरेपाटन माविले डेभिडफल्सको पर्यटन शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानून, पोखरा महानगरपालिका आर्थिक ऐनको प्रावधान विपरीत रहेको महानगरपालिकाले जनाएको छ ।
‘महालेखाको प्रतिवेदनले समेत डेभिडफल्सबाट पर्यटन शुल्क उठाई सोबापत प्राप्त आम्दानी छोरेपाटन माविले भोग गरिरहेको नियम विपरीत भनी स्पष्ट किटान गरी असुल उपर गर्नुपर्ने बेरुजुको रूपमा कायम गरेको हुँदा तत्कालै डेभिडफल्समा लगाएको ताला खोलेर महानगर आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाइ डेभिजफल्स सञ्चालन गर्ने, पर्यटकको लागि खुला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटको लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो’, निर्णयमा भनिएको छ ।
डेभिडफल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा सर्वपक्षीय बैठकले सरोकारवाला पक्षका बिचमा छलफल गर्ने निर्णय गरेको छ ।
‘मिति २०७८ साल श्रावण १४ गते सम्झौता भई सेती क्यानोन प्रालिलाई शिशापुल तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्ने गरी सार्वजनिक निजी साझेदारी अवधारणामा परियोजना अगाडि बढिरहेको अवस्थामा सो परियोजनाका सम्बन्धमा सम्झौताको समयावधि र परियोजनाबाट प्राप्त हुने रोयल्टीलगायत अन्य स्थानीय बासिन्दाले प्राप्त गर्ने अवसरका सम्बन्धमा समेत राजनीतिक दल तथा स्थानीयवासीको समेत प्रतिनिधिमूलक उपस्थितिमा छलफल गर्न आवश्यक देखिएको हुँदा सो परियोजना सञ्चालनका लागि सेती क्यानोन प्रालिको समेत उपस्थितिमा व्यापक छलफलमार्फत अघि बढ्ने निर्णय गरियो’, बैठकको निर्णयमा भनिएको छ ।
डेभिडफल्सबाट सङ्कलन हुने पर्यटन शुल्क महानगरपालिकाले उठाउन थालेपछि अवरोधका कारण माघ १ गतेदेखि त्यहाँ महानगरपालिकाले शिल गरेको थियो ।
आइतबार बसेको सर्वपक्षीय बैठकले त्यसलाई नियमित रूपमा सुचारु गर्ने गरी निर्णय गरेको छ ।
बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सुरक्षा निकायका प्रमुख, वडा नं।१७ का वडाध्यक्ष राधिकाकुमारी शाही योगी, छोरेपाटन माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र पूर्वअध्यक्षहरू समेत सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.