0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित डेभिडफल्स सञ्चालनमा आएको छ पोखरा महानगरपालिकाले स्वामित्वमा लिएपछि आजदेखि डेभिडफल्स सञ्चालनमा आएको हो ।
माघ १ गते महानगरले डेभिडफल्सको स्वामित्वमा हस्तक्षेप गरेपछि स्थानीयवासीले अवरोध गरेका थिए । त्यसपछि डेभिडफल्स बन्द रहँदै आएको थियो ।
डेभिडफल्सलाई पोखराको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । डेभिडफल्सको स्वामित्व यसअघि छोरेपाटन उच्च माविले लिँदै आएको थियो । त्यसको आम्दानीबाट विद्यालय सञ्चालन हुँदै आएको थियो ।
पोखरा महनागरपालिकाका प्रमुख धनराज आचार्यले डेविडफल्सको व्यवस्थापन र सञ्चालनका क्रममा देखिएका असमझदारी र भ्रमलाई टेबुल वार्तामार्फत समाधान गर्न सफल भएसँगै सञ्चालनमा आएको बताए ।
पोखरा । हिजो (आइतबार) र आज (सोमबार) को सर्वपक्षीय सहमतिपछि डेविडफल्स पुनः सञ्चालनमा आएको बताए ।
उनले भने, ‘पोखरा महानगरपालिकाको नेतृत्वमा स्थानीय प्रशासन, राजनीतिक दल, सुरक्षा निकाय, विद्यालय, र समुदायको सामूहिक प्रयासले आज ताला खुल्ने ऐतिहासिक अवसरलाई सम्भव बनाएको छ, पोखराको पर्यटनलाई निरन्तर प्रोत्साहन गर्न र यो गन्तव्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्न अबका दिनमा पनि सहकार्य र समझदारीलाई प्राथमिकता दिने प्रतिज्ञा गर्दछौँ ।’
आइतबार पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले डेविडफल्समा भइरहेको अवरोध हटाई तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बैठकले डेविडफल्स महानगरपालिका आँफैले कानून बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
छोरेपाटन माविले डेभिडफल्सको पर्यटन शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानून, पोखरा महानगरपालिका आर्थिक ऐनको प्रावधान विपरीत रहेको महानगरपालिकाले जिकिर गर्दै आएको थियो ।
महालेखाको प्रतिवेदनले समेत डेभिडफल्सबाट पर्यटन शुल्क उठाई सोबापत प्राप्त आम्दानी छोरेपाटन माविले भोग गरिरहेको नियम विपरीत भनी स्पष्ट किटान गरी असुल उपर गर्नुपर्ने बेरुजुको रूपमा कायम गरेको थियो ।
बैठकले डेभिडफल्समा लगाएको ताला खोलेर महानगर आफैले कानून बमोजिम पर्यटन शुल्क उठाइ डेभिडफल्स सञ्चालन गर्ने, पर्यटकको लागि खुला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटका लागि कानून बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको थियो ।
महानगरपालिकाले डेभिडफल्स सञ्चालनको जिम्मेवारी २०७८ साउन १४ गते सम्झौता गरी सेती क्यानोन प्रालिलाई दिएको छ ।
सेती क्यानोन त्यहाँ शिशापुल तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्नेछ । सार्वजनिक निजी साँझेदारी अवधारणामा परियोजना अघि बढिरहेको महानगरपालिकाले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.