बैशाख ०४, २०८२, बिहीबार

काम गरेकै ठाउँबाट १५ लाख चोरेर भागेका दुई जना पक्राउ


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट करिब १५ लाख रुपैयाँ चोरी भएको छ । यही माघ ११ गते दिउँसो १ बजेको समयमा पार्टी प्यालेसबाट उक्त रकम चोरी भएको हो ।

पैसा चोरीको सूचना प्राप्त गर्ने बित्तिकै खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलीले दुई जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरु पार्टी प्यालेसमै तीन महिनादेखि काम गर्दै आएका थिए । रकम चोरी भएको दुई दिन अघिमात्र उनीहरुले काम छाडेका थिए ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका वडा नं.३ घर भएकी २९ बर्षीया पूजा श्रेष्ठ छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा माघ १३ गते बुटवल उपमहानगरपालिका वडा नं.११ कालिका नगरको होटलबाट नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरुको साथबाट १२ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ र मोबाईल ३ थान बरामद भएको डीएसपी शर्माले जानकारी दिए ।

उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दामा १३ गतेदेखि नै लागू हुने गरी छ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले बताए ।

Copyright © 2024 | All rights reserved.