बैशाख ०४, २०८२, बिहीबार

वन डढेलो नियन्त्रणमा जुट्न फेकोफन कास्कीको आव्हान


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हिउँदे बर्षाको कमी, निरन्तर तापक्रमको वृद्धिको कारण यस बर्ष पनि वन क्षेत्रमा डढेलो लाग्ने अधिक सम्भावना रहेको भन्दै फेकोफन कास्कीले नियन्त्रणमा जुटन सवैमा आव्हान गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको पूर्ण बैठकले डढेलो नियन्त्रणका लागि सम्पूर्ण वन समूह र सरोकारवाला सबैलाई आआफ्नो स्थानबाट सचेत रहन आग्रह गरेको हो ।

डढेलो नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाको प्रभावकारी कार्यान्वयन, सम्वन्धित निकायबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने बैठकले निर्णय गरेको महासंघ कास्कीका अध्यक्ष विश्वनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार दैनिकरुपमा वनमा जाने गोठाला, घाँस दाउराका लागि जाने वन समूह तथा जडिवुटी र काठ दाउरा संकलन गर्न जाने व्यक्तिसहित पैदलयात्रीलाई डढेलो विरुद्ध सचेतीकरण गर्न बैठकले जोड दिएको छ ।

बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले वन पैदावार उपयोग नीतिको अभावमा वन क्षेत्र प्रत्येक बर्ष डढेलोको चपेटामा पर्ने गरेको बताए ।

झाडी, सोत्तर, दाउरा र काठको भण्डार जंगलमा खेरजाने वन पैदावार निकाल्ने सर्वसुलभ नीतिको खाँचो रहेको बताउँदै उनले सामुदायिक वन उद्यम दर्ता हुनु अपरिहार्य रहेको बताए ।

काठको कम्पोजिट प्लान्ट र पात पतिङ्गरको प्राङ्गारिक मल बनाउने उद्योग स्थापना गर्ने हो भने वन डढेलो रोकिनुका साथै हरित रोजगार सिर्जना भई आयातित काठ र मल विस्तापित गर्न सकिने उनको विश्वास थियो ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले मानव, वन्यजन्तु, वातावरणलगायतको क्षेत्रमा ठूलो असर पर्ने वन डढेलो नियन्त्रणमा जुट्न उपभोक्तालाई अपिल गर्दै आगो लगाउने जो सुकैलाई भए पनि कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

बैठकमा महासंघ प्रदेश महासचिव आसु विक, सदस्य दिनेश श्रेष्ठ, लक्ष्मी अधिकारी, जितबहादुर वस्नेत, जिल्लाका चूडामणि अधिकारी, पार्वती सुवेदीलगायत कास्की जिल्लाका पाँचवटै स्थानीय महासंघका पदाधिकारी तथा सदस्यले वन डढेलो विरुद्धमा संगठित भएर जुट्ने प्रतिवद्धता जनाए ।

यसैबीच सामुदायिक वन उपभोक्ता महासंघको टोलीले डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफलेसँग भेट्घाट गरी वन डढेलो नियन्त्रणमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

पोखरा महानगरको तीन स्थान र चारवटा गाउँपालिकामा एकएक गरी सात स्थानमा सामुदायिक वनका उपभोक्ताको भेला गरी डढेलोविरुद्धमा सचेतीकरण गर्नुका साथै आवश्यक प्रचारप्रसारमा जोड दिने सहमति भएको महानगर महासंघका अध्यक्ष कमल भुजेलकाे भनाइ छ ।

Copyright © 2024 | All rights reserved.