बैशाख ०४, २०८२, बिहीबार

महाकुम्भ क्षेत्रमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको पुष्टि


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ क्षेत्रमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा ६० जना घाइते भएका छन् ।घटनाको १७ घण्टापछि उत्तर प्रदेश सरकारले ३० जनाको मृत्यु भएको र ६० जना घाइते भएको पुष्टि गरेको हो । 

यद्यपि मिडिया रिपोर्टलाई आधार मान्ने हो भने ४० जनाको मृत्यु भएको छ । दैनिक भास्करलेसमेत अन्तिम मृतकको ‘डेड बडी’ माथि ४० लेखेको देखेको बताएको छ ।

बुधबार साँझ मेला अधिकारी विजयकिरण आनन्द र डीआईजी वैभव कृष्णाले मात्र तीन मिनेट गरेको पत्रकार सम्मेलनमा ३० जनाको मृत्यु भएको र ६० जना घाइते भएको बताएका हुन् । 

मृतकमध्ये अहिलेसम्म २५ जनाको मात्र सनाखत भएको छ । पहिचान भएकाहरुमा उत्तर प्रदेशका १९, कर्नाटकका चार तथा असमका एक श्रद्धालुको मृत्यु भएको हो । 

नेपालबाट पनि हजारौँको संख्यामा प्रयागराज गएका छन् । उक्त भागदौडमा कुनै नेपाली परेको बारेमा भने जानकारी आएको छैन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई २५-२५ लाख रुपैयाँ राहत दिने बताए । 

भागदौडपछि प्रशासनको अनुरोधअनुसार सबै १३ अखाडामा आज मौनी अमावश्याको अमृत स्नान रद्द गरिएको अखाडा परिषद्का अध्यक्ष रविन्द्र पुरीले बताएका छन् । 

गएराति २ बजेको समयमा एक्कासी भागदौड मच्चिएको हो । मिडिया रिपोर्टअनुसार अफबाह फैलाउँदै भागदौड मच्चिएको थियो । केही महिलाहरु जमीनमा लडेकामा अरुले उनीहरुलाई कुल्चदै अगाडि बढेका थिए । 

घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भमा आएका भक्तालुसँग विनम्र अनुरोध गर्दै गंगाको जुन घाट नजिक रहेका छन् त्यहीँ स्नान गर्न भनेका थिए । प्रशासनको निर्देशन पालना गर्नसमेत उनले विनम्र आग्रह गरेका छन् । उनले ब्यवस्थापनलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् । 

उनले कुनै पनि अफबाहको पछि नलाग्नसमेत आग्रह गरेका छन् । यसअघि मंगलबार योगी आदित्यनाथले सबै श्रद्धालुलाई मौनी अमावश्यामा शामेल हुन आग्रह गरेका थिए । 

घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम किनारमा पुगेका थिए । मौनी अमावश्याको स्नान भएका कारण करिब पाँच करोड श्रद्धालु सहरमा रहेको अनुमान छ । 

प्रशासनका अनुसार संगमसमेत ४४ घाटमा राति अबेरसम्म ८ देखि १० करोडले डुबकी लगाउने अनुमान गरिएको थियो । तर अप्रिय घटना भएसँगै श्रद्धालुलाई अमृत स्नान गर्न रोक लगाइएको हो । 

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग पटक पटक फोन सम्पर्क गरी जानकारी लिएका थिए । अखाडा परिषद् अध्यक्षले अब बसन्त पञ्चमीमा अखाडामा स्थान गर्ने जानकारी दिएका छन् । 

अध्यक्ष पुरीले घटना गम्भीर भएको भन्दै क्षमा माग्दै अब बसन्त पञ्चमीमा स्नान गर्न आउन पनि आग्रह गरेका छन् । उनले आज जहाँ पवित्र गंगा देखिन्छ त्यहीँ डुबकी लगाउन पनि आग्रह गरेका छन् ।

Copyright © 2024 | All rights reserved.