0
प्रतिक्रिया
पोखरा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
आज बिहान भएको एलिमिनेटर खेलमा न्यू डायमण्डले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । न्यू डायमन्डले पहिलो सेट २५-२२, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
यसअघि न्यू डायमण्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो । पुलिस ‘हार्ने समूह’ बाट शीर्ष स्थान र न्यू डायमण्ड ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेका थिए ।
न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपीएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
आजको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बीच हुनेछ । उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेलको क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ ।
आजै तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबबिच हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।
Copyright © 2024 | All rights reserved.