0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याएको बताएका छन् ।
तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामनासमेत गरे ।
शुभकामना सन्देशमार्फत् प्रदेश प्रमुख भट्टले भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आआफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
Copyright © 2024 | All rights reserved.