0
प्रतिक्रिया
पोखरा । प्रेस चौतारी नेपाल कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ ।
प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ ।
प्रेस चौतारीको २७औं स्थापना दिवसको अवसरमा माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागिएको हो । पुरस्कारको राशि २२ हजार दुई सय २२ रुपैयाँ नगद रहेको छ ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतीसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको हो ।
सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । स्याङ्जा सिरूबारी जन्मस्थान रही पोखरा-१५ मा स्थायी बसोबास गर्दै आएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए ।
पत्रकार पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित समाज सेवा युवा परिवारका संस्थापक अध्यक्ष, जनप्रिय बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन् ।
प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई सम्मान गरिसकेको छ ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् ।
यसैगरी, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, शुष्मा पौडेल र माधव बराल साे पुरस्कारबाट पुरस्कृत भए ।
Copyright © 2024 | All rights reserved.