बैशाख ०४, २०८२, बिहीबार

पाेखराकाे बड्स एकेडेमीमा उच्चस्तरीय शिक्षण विधिसहित अभिभावकत्व कार्यक्रम


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित बड्स एकेडेमीमा प्राइमरी शो सम्पन्न भएको छ ।

बालबालिकाका अन्तरनिहीन प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा नर्सरीका विद्यार्थीले स्वागत गीत, फोनिक्स डेमो नृत्य, हामी पढ्छौँ, हामी लेख्छौँ र ‘क’ को परिवार गीत प्रस्तुत गरेका थिए ।

यस्तै एलकेजीका विद्यार्थीले हात हुने र दाँत माझ्ने तरिकाका साथै सरसफाइका सामग्रीको व्यवस्थापनलगायतका कार्यको प्रयोगात्मक लाइभ प्रशिक्षण प्रस्तुत, यूकेजीका विद्यार्थीले जेब्रा क्रसिङबारे नाटक र हे साथी हे साथी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

कक्षा १ का विद्यार्थीले बोटबिरुवाका विभिन्न भागको प्रस्तुति, बिरुवा उम्रिने र हुकिने प्रक्रियाबारे गीत प्रस्तुत एवं आँखैमा राख्छु मेरो देश गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी कक्षा २ का विद्यार्थी सामाजिक सञ्जालको दुरुपयोगबारे नाटक, मैना चरी गीतमा नृत्य र सांस्कृतिक भेषभूषासहित पहिरन प्रदर्शन गरेका थिए भने कक्षा ३ का विद्यार्थीले चुरोट खानुहुँदैन भन्ने सन्देशसहित नाटक प्रदर्शन, संवाद र सांस्कृतिक भेषभूषासहित पहिरन प्रदर्शन गरेका थिए । विद्यार्थीको प्रस्तुतिमा कार्यक्रमका अतिथि र अभिभावक निकै रमाएका थिए ।


कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल ९एनप्याव्सन० कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बड्स एकेडेमी पोखराका अब्बलमध्येको एक शैक्षिक संस्था भएको बताए । गत वर्षको एसईईमा बड्सकै बिमला पौडेलले उत्कृष्ट अंक हासिल गरी एनप्याव्सनबाट उनीसहित विद्यालय नै सम्मानित भएको स्मरण गर्दै उनले आगामी दिनमा पनि उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

पौडेल २०८० को एसईई परीक्षामा एनप्याव्सनमा छात्रातर्फ सर्वोत्कृष्ट बनेर सम्मानित भइन् । पौडेलले एसईई परीक्षामा ३दशमलव९६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट बनेकी थिइन् ।

अधिकारीले विद्यार्थी पौडेललाई आगामी दिनमा के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा सिंगो एनप्याव्सन तयार रहेको स्पष्ट पारे । उनले विद्यार्थीलाई समयले माग गरेको सीपयुक्त शिक्षा प्रदान गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।

विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेले विद्यालय यो स्थानसम्म आउनुमा सञ्चालक समिति, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, कर्माचारीको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले विद्यार्थीलाई समय परिवेश अनुसार गुणस्तरीय र प्रविधि तथा सीपयुक्त शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे ।

प्राचार्य वाग्लेले एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको बताए । साथै विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकास ध्यानमा राख्दै सीबीएलसँग सहकार्य गरेर उच्च स्तरीय शिक्षण विधिको प्रयोग गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तेजनारायण पराजुलीले विद्यार्थी र अभिभावकलाई प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीको भविष्य अभिभावकले आफ्ना बाबुनानीलाई दिने समयमा भर पर्ने बताए ।

कार्यक्रममा सीबीएलका कार्यकारी निर्देशक अञ्जना श्रेष्ठ, सीबीएलका पोखरा क्षेत्रका निर्देशक रेखा श्रेष्ठ, सहजकर्ता सर्मिला रेग्मी र अञ्जु बसेल तथा सीबीसीका कार्यक्रम व्यवस्थापक सुशिला श्रेष्ठलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्राचार्य विष्णुहरि देवकोटाले स्वागत र सञ्चालन प्रशासक ध्रुव पोखरेलले गरेका थिए ।

२०६२ सालमा स्थापित बड्स एकेडेमीमा हाल चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।

Copyright © 2024 | All rights reserved.