बैशाख ०४, २०८२, बिहीबार

मन्त्री केसीद्वारा दुई योजना अनुगमन


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

तनहुँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका दुई महत्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरेका छन् ।

लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत दुलेगौँडा हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदीमाथि निर्मित मोटरेबल पुलको अनुगमन गरेका हुन् ।

सो अवसरमा मन्त्री केसीले निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनालाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए ।

गण्डकी प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री किरण गुरुङ, मन्त्रालयका सचिव कमलकुमार अधिकारीसहित पुगेका उनले सरकारकोतर्फबाट कुनै समस्या भए सहजीकरण गर्न तयार रहेको बताउँदै तत्काल कामदार बढाएर प्रगति बढाउन आग्रह गरे ।

विस २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौँडा-हर्कपुर सडक १०दशमलव१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको थियो ।

२०७८ माघ १० गते भित्र सम्पन्न हुनुपर्ने सडक पटक पटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले बताए ।

उक्त खण्ड कालोपत्रका लागि एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजार रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता गरेको हो ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको हो ।

ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नहुदा स्थानीवासीले चुनावको बेला मात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन् ।

स्थानीय एवं दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउदै चाडो सम्पन्न गराउन ध्यानाकर्षण गराए ।

निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी शुक्लागण्डकी-५ र ८ स्थित बेलचौतारा-मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको कामले गति नलिएको भन्दै उपभोक्ता समितिले मन्त्री केसीले ध्यानाकर्षण गराए ।

शुरुको सम्पन्न गर्नुपर्ने मिति गत वर्षको जेठ २० गते भएकोमा २०८२ मंसिर २० सम्म म्याद थप भएको छ । कामको प्रगति करिव ३० प्रतिशत मात्र छ ।

२०७७ मंसिर २४ मा मूल्य अभिवृद्धिसहित १५ करोड ५९ लाख रुपैयाँमा पुल निर्माणका लागि महावीर खिम्ती अञ्जना पराजुली जेभीले सम्झौता गरेको हो ।

टायल फाउण्डेसनमा निर्माण हुने पुल एक सय ५० दशमलव४ मिटर लामो छ । चार वटा स्पानमध्य हाल एक स्पानमात्र ढलान भएको छ । निर्माण कम्पनीलाई हालसम्म आठ करोड १३ लाख भुक्तानी भइसकेको छ ।

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीले कार्यालयकोतर्फबाट काम गर्न कुनै समस्या नरहेको प्रष्ट पारे । उनका अनुसार वडा नंं. ८ तर्फ तीन वटासम्म स्पान थप भएमा ४०दशमलव२५ प्रतिशत अर्थात ६ करोड २७ लाख रुपैयाँ बजेट थप गर्नुपर्ने देखिएको छ ।

स्थानीय बाबुराम कार्कीले पुल निर्माणको कामले गति नलिँदा वडा नं. ८ तर्फ कटान बढ्दै गएको बताए । उनले स्थानीय स्तरबाट निर्माण व्यवसायीलाई सबै सहयोग गर्दै आए पनि कामले गति लिन नसकेको उल्लेख गरे ।

मन्त्री केसीले मन्त्रालयअन्तर्गतका लामो समयसम्म सम्पन्न नभएका समस्याग्रत योजनालाई आँफूले चाडै सम्पन्न गर्नतर्फ केन्द्रित गरेको बताए ।

समयमै विकास निर्माणका योजना सम्पन्न नहुँदा जनताले दुःख पाउने गरेको भन्दै उनले शुरु भएका योजनालाई आर्थिक अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

Copyright © 2024 | All rights reserved.