बैशाख ०४, २०८२, बिहीबार

पोखरा-५ का एक सय ८७ किशोरीले लगाए एचपीभी खोप


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ मा एक सय ८७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दिइने खोप (एचपीभी) दिइएको छ ।

वडाध्यक्ष विष्णुप्रसाद बरालले खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अभिभावक र नागरिक अगुवालाई खोपको फाइदाबारे जनचेतना फैलाउन भूमिका खेल्न आग्रह गरे ।

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले विद्यालयमा अध्ययन गर्ने किशोरीलाई खोप केन्द्रमै पुगेर खोप लगाइने तथा विद्यालय बाहिर रहेका किशोरीलाई फागुन ६ गते महानगरका ४७ वटा स्वास्थ्य केन्द्रमार्फत खोप प्रदान गरिने जानकारी दिए ।

पोखरा महानगरपालिका जनस्वास्थ्य अधिकृत सुवास बास्तोलाका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दिइने यो खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्रदान गरिन्छ ।

‘शारीरिक सम्पर्क हुनुभन्दा पहिले खोप लगाउँदा यसको प्रभावकारिता ९८ देखि एक सय प्रतिशतसम्म हुने अध्ययनले देखाएका छन्’, बास्तोलाले भने ।

पोखरा महानगरपालिकाभित्र अभियानले समेट्नु पर्ने करिब २३ हजार किशोरी छन् । महानगरले दुई ७५ विद्यालयलाई खोप केन्द्र तोकी तीन सय ४४ जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीलाई विद्यालयमै खोप दिने व्यवस्था गरिएको छ भने विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रमार्फत खोप दिइनेछ ।

नेपाल सरकारले एचपीभी खोपलाई यस वर्षदेखि राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ। आगामी वर्षदेखि प्रत्येक वर्ष कक्षा ६ मा भर्ना भएका र १० वर्ष पुगेका किशोरीलाई नियमित रूपमा खोप दिने व्यवस्था मिलाइनेछ ।

नेपालमा हरेक दिन औसत चार जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन् ।

एचपीभी खोपलाई विश्व स्वास्थ्य संगठनले सुरक्षित र प्रभावकारी प्रमाणित गरिसकेको छ भने नेपाल औषधि व्यवस्था विभागबाट पनि स्वीकृति प्राप्त गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित उमेर समूहका सबै किशोरीलाई निर्धक्क भएर खोप लगाउन अनुरोध गरेको छ ।

Copyright © 2024 | All rights reserved.