0
प्रतिक्रिया
पोखरा । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियान पोखरामा जारी छ । मङ्गलबारदेखि पोखरा-५ बाट शुरु भएको अभियान दोस्रो पोखरा १२ मा भएको हो ।
पोखरा-१२ स्थित शीतलादेवी माविमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अभियान शुभारम्भ गरे । कार्यक्रममा मन्त्री पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन शुरु गरिएको बताए ।
उनले यो खोपबाट कोही पनि किशोरी बञ्चित हुन नदिन सबैले आआफ्नो ठाउँबाट प्रचार-प्रसार र सहयोग गर्न आग्रह गरे ।
मन्त्री पौडेलले भने, ‘देशैभर खोप र जनशक्ति पुगेकाले लक्षित वर्ग खोपबाट नछुटुन् भन्ने उद्देश्य सरकारको छ, निरोगी नेपाल बनाउन यसले सहयोग पु¥याउनेछ, भविष्यमा नेपाललाई स्वस्थ बनाउन अभियानले काम गर्नेछ ।’
अभियानका क्रममा पोखरा भित्रका करिब २३ हजार सात सय ४८ किशोरीलाई लगाइने छ । फाल्गुन ६ गतेसम्म महानगरका दुई सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थामा तीन सय ४४ जना स्वास्थ्यकर्मी र छ सय ८८ जना स्वयंसेवक परिचालन गरी यो खोप अभियान सुरुवात गरिएको हो ।
विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो ।
मन्त्रालयले निःशुल्क एचपीभी खोप अभियान आगामी फागुन ६ गतेसम्म देशभर सञ्चालन गरेको छ । कुल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ ।
नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप लगाउने, ३० वर्ष माथिका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाको नियमित उपचार गर्नेलगायतका प्रयास भइरहेको बताइन्छ ।
नेपालमा नसर्ने रोगको भार बढिरहेको छ । जसमा क्यान्सरको भार झन् बढ्दो छ । हरेक दिन छ जनामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।
Copyright © 2024 | All rights reserved.