0
प्रतिक्रिया
पोखरा । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।
सबै मौसममा पर्यटन’ भन्ने मूल नाराका साथ घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म महोत्सव हुने संयोजक अमृत गुरुङले जानकारी दिए ।
घान्द्रुकस्थित मेश्रम बराह माविको प्राङ्गणमा हुने महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलोलगायतका प्रतियोगिता हुने संयोजक गुरुङले बताए ।
संयोजक गुरुङले खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए ।
‘खेलकुद पनि पर्यटनसँग जोडिएको छ, पर्यटन महोत्सवमा खेलकुदलाई जोड्दा खेलाडी र पर्यटकीय क्षेत्रलाई दुवैलाई फाइदा छ’, उनले भने, ‘ढुङ्गेनी गाउँले परिचित घान्द्रुकलाई जोड्न खेलकुदले पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ ।’
उनका अनुसार भलिबल र खुला बास्केटबल प्रतियोगिता विजेताले एक लाख २२ हजार दुई सय २२ र उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने समूहले १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी भेन्ट्रान्स भलिबल प्रतियोगिता विजेताले ३० हजार, उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको प्रत्येक साँझ सास्कृतिक कार्यक्रमसमेत हुने बताइन्छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङका अनुसार घान्द्रकमा एकैदिन दुई हजार पाँच सय पर्यटकलाई राख्न सकिनेछ । उनका अनुसार घान्द्रुकमा ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा छन् ।
महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई २० प्रतिशत छुट र खेलाडीलाई आठ सय रुपैयाँको प्याकेज उपलब्ध गराइने अध्यक्ष गुरुङले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.