बैशाख ०४, २०८२, बिहीबार

खेलाडी, खेल संस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समीक्षा एवं अन्तरक्रियामा उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मन्त्री थापाले खेलकुद पूर्वाधारको विस्तार, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको समग्र प्रवर्द्धनलाई सरकारको प्राथमिकतामा राखिएको बताए ।

उनले खेलाडीका हक, हित, संरक्षण र प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पारे ।

उनले खेलकुद केवल व्यक्तिगत उपलब्धिसँग सीमित नरही प्रदेशको समृद्धि, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहिचानका लागि पनि महत्वपूर्ण क्षेत्र भएकाले प्रदेश सरकारले लगानी बढाउने बताए ।

खेल क्षेत्रको दिगो विकासका लागि सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, खेल संघ-संस्था, खेलाडी तथा खेलप्रेमीसँग सहकार्य गरी नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गरिने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भएका हरेक प्रकारका खेलकुद सम्बन्धि कार्यक्रममा महानगरको साथ रहेको उल्लेख गरे ।

पोखरा पर्यटनको राजधानी भएकाले खेलकुदमार्फत पनि पर्यटन बढ्वामा टेवा पुर्‍याउने हेतु गतिविधि बढाउन उनको आग्रह छ ।

कार्यक्रममा खेल क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, पत्रकार तथा सरोकारवाला सहभागी थिए ।

सहभागीले खेलाडीको क्षमता अभिवृद्धि, पूर्वाधार विकास तथा खेल प्रशासनको सुदृढीकरणमा प्रदेश सरकारको थप ध्यानाकर्षण गराएका थिए ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले पनि बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.