बैशाख ०४, २०८२, बिहीबार

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी सेमिफाइनलमा


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबलको २४औँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा अर्को विदेशी टोली भारत सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० गोलको फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्सले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलोपटक पोखरा आएर खेलको ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ३८औँ मिनेटमा ब्ल्याक बुल्सले स्लोमजोन अब्दुकोडिरोभको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गरेका थिए ।

खेलमा फर्किन सङ्घर्ष गरिरहेको थण्डरबोल्टलाई खेलको ७३औँ मिनेटमा उज्वेकिस्तानका साइमोल दभ्लातजोनोभले अर्को गोल थप्दै निरास बनाए । त्यसको दुई मिनेटपछि बल्कात्जोन साटरोभले गोल गर्दै फराकिलो अन्तरको जित निकाल्स सफल भए ।

ब्ल्याक बुल्सले सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबसँग फागुन १ गते खेल्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबका बीच हुने आयोजकले जनाएको छ ।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रू १२ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।

Copyright © 2024 | All rights reserved.