बैशाख ०४, २०८२, बिहीबार

नमस्ते हस्पिटल आफ्नै भवनमा


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थापनाको १३औं बर्षको उपलक्ष्यमा मुस्ताङचोकमा नवनिर्मित अत्याधुनिक भवन सञ्चालनमा ल्याइएको हो ।

करिब १८ करोड लगानी रहेको अस्पतालमा इमर्जेन्सीलगायत २५ शय्या छन् । अस्पतालले यसअघि पोखरा-१७ बिरौटामा रहेर सेवा दिइरहेको थियो ।

पेट, छाती, मुटु, हाडजोर्नी, नशा, बाथ, जोर्नी प्रत्यारोपण, स्पोर्टस इन्जुरी, स्त्री तथा प्रसुति, निसन्तान (बाझोपन), बालरोग लगायतका विशेषज्ञ सेवा छन् ।

अस्पतालमा आईसियुको आवश्यकतालाई महसुस गरी अस्पतालले छ शय्याको सघन उपचार कक्ष (आईसियु) समेत संचालनमा ल्याएको अस्पतालका निर्देशक प्राडा ईश्वरप्रसाद कँडेलले जानकारी दिए ।

 

अस्पतालका अध्यक्ष डा. मनबहादुर गुरुङले चौबिसै घण्टा सेवा दिनुका साथै वार्षिकोत्सवको अवसरमा हस्पिटलमा एक सातासम्म विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट रहेको जानकारी दिए । उनले अस्पताललाई विशेषज्ञको सेवा केन्द्रित बनाउने बताए ।

अस्पतालबाट कास्की, पर्वत, स्याङ्जा र बाग्लुङ्का नागरिकले बढी सेवा लिने गरेको अस्पतालका उपाध्यक्ष मदन रञ्जितले बताए ।

अस्पतालका सञ्चालक सदस्य रुकबहादुर गुरुङले बिरामीहरुको सेवाका लागि मासिक रुपमा निःशुल्क शिविर क्याम्प समेत राखिने जानकारी दिए ।

कार्यक्रममा पार्दी माविका प्राचार्य वामदेव पौडेल, सिद्धार्थ राजमार्ग टोल विकास संस्था अध्यक्ष आत्मा तुलाचन, ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटालगायतले अस्पतालको सेवालाई छिटो, छरितो, सर्वसुलभ एवं गुणस्तरीय बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग गरेका डा. राजीव लालचन र उत्कृष्ट कर्मचारी एलिना सिंहलाई सम्मान गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.