0
प्रतिक्रिया
पोखरा । पोखरामा आजदेखि नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान शुरु भएको छ । अभियान एक कार्यक्रमबीच नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले शुरुआत गरे । मन्त्री पौडेलकै रक्त परीक्षण एवं रक्तचाप परीक्षण गरी अभियान शुभारम्भ गरिएको थियो ।
उक्त अवसरमा मन्त्री पौडेलले उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको बताए ।
मन्त्री पौडेलले यसैलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगको पहिचान अभियानका रुपमा संचालन गर्ने निर्णय गरेको स्पष्ट पारे ।
जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको भन्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरे पनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको जिकिर गरे ।
“जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, उनले भने, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो ।”
विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उनले ती समस्याको सुरुमा नै पहिचान भएमा अन्य रोग निम्तन नसक्ने बताए ।
सुरुमा नै समस्याको पहिचान भएमा त्यसबाट जटिलता ननिम्तने बताउँदै उनले ३० वर्ष माथिका सबै नागरिकको रोगको पहिचान आवश्यक भएको बताए ।
यस अभियानका लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक हुने बताउँदै उनले फागुन महिनाभर यो अभियान सञ्चालन हुने जानकारी दिए । यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने उनको भनाइ छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिना, पोखरा महानगरपालिका-८ का वडाध्यक्ष रुद्रनाथ बराल, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत तेजाखर लम्साललगायतले अभियानले नसर्ने रोगको पहिचानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताएका थिए ।
Copyright © 2024 | All rights reserved.