0
प्रतिक्रिया
पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पोखरा-२६ स्थित चापाचौरमा संघीय सरकारले बनाउन लागेकाे प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माणस्थल निरीक्षण गरेका छन् ।
सुविधासम्पन्न एक सय शय्याको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी टेण्डर प्रक्रिया अघि बढाउन लागेको छ । यसका लागि चालु आर्थिक बर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ ।
निरीक्षणपछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका हिसाबले निर्माणस्थल राम्रो रहेको उल्लेख गरे । चिकित्सालय निर्माणले पार्ने सकारात्मक र नकारात्मक प्रभावका बिषयमा तयार गर्ने प्रतिवेदन छुटेकोमा त्यो पनि पूरा भएको बताए ।
मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगमा योजनाका लागि पठाउँदा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन छुट भएको पाएपछि त्यसलाई पनि टेण्डर प्रक्रियाद्वारा सेवा प्रदायक संस्था छनोट गरी तयार गरिएको बताए ।
मन्त्री पौडेलले विनियोजन भएको १० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको बोलपत्र आब्हान गरिने उल्लेख गरे ।
पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले एक सय शय्या चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध गराइएको र थप १० रोपनी जग्गाका लागि सुनिश्चितता गरिएको बताए ।
अध्यक्ष थापाका अनुसार यसअघि २५ शय्याको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै संघीय सरकारलाई एक सय शय्याको चिकित्सालय निर्माणका अनुरोधसहित जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
संघीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो । चिकित्सालय निर्माणका लागि ६० करोड रुपैयाँको लागत अनुमान छ ।
शिक्षाविद् रवि बरालले तीन दशक अघि सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गरे । उनले चिकित्सालय निर्माण कार्य शीघ्र अघि बढाउन मन्त्री पौडेललाई आग्रह गरे ।
बरालले निर्माणस्थलको वातावरण राम्रो रहेको उल्लेख गर्दै स्थानीय समुदायसमेत सकारात्मक भएकाले चिकित्सालय निर्माणका लागि सहज भएको बताए ।
स्थानीय कुलदीप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै कहीँकतै अवरोध नभएकाले चाँडो प्रक्रिया अघि बढाइदिन आग्रह गरे ।
चिकित्सालयमा शिरोधारा, साउनावाथ, स्टिम वाथ, ज्याकुजी, अकुपंचर, नेचुरोप्याथिक, योगलगायतका सेवा उपलब्ध हुने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जानकारी दिए ।
पञ्चकर्म सेवाका लागि भीआइपी डिलक्स र डिलक्स गरी पाँचवटा भिल्ला तयार गरिने समेत डा. गौतमले जानकारी दिए ।
डिलक्सपछि क्याविन र साधारण शय्या गरेर एकसय पुर्याइने जानकारी दिँदै डा. गौतमले आवासीय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने गरी चिकित्सालयको डीपीआर तयार गरिएको बताए ।
विभिन्न राष्ट्रका भीआइपीले पञ्चकर्मको सेवा र जानकारी लिन आएमा उनीहरुलाई भीआईपी डिलक्स उपलब्ध गराउने गरी डिजाइन तयार गरिएको गौतमले बताए ।
Copyright © 2024 | All rights reserved.