बैशाख २४, २०८२, बुधबार

नदीपुर अस्थायी प्रहरी पोष्टमा महिलामात्रै


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित अस्थायी प्रहरी पोष्टमा महिला प्रहरी कर्मचारीमात्र रहने भएका छन् ।

यसअघि पुरुष प्रहरी कर्मचारी पनि रहने गरेकामा अबदेखि महिलामात्र राखिने भएको हो ।

आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नयाँ सेवा शुभारम्भ गरे ।

कार्यक्रममा प्रजिअ पाण्डेले महिलामात्र कार्यरत रहेको युनिट बढी अनुशासित हुने बताए । कानुनको पालना गरेर समाजमा शान्ति कायम गराउन नागरिक समाजको पनि दायित्व भएको उनको भनाइ छ । उनले नागरिक पनि विना बर्दीको प्रहरी भएकाले जनताको साथ बिना प्रहरी एक्लैले शान्ति सुरक्षा दिन नसक्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले महिला प्रहरी मात्र राखेर सेवा सञ्चालन गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

उनले विशेषगरी महिला तथा बालबालिकासँग सम्बन्धित काम गर्नका लागि पनि महिलालाई मात्र जिम्मेवारी दिइएको बताए ।

कास्कीमा महिला प्रहरी कर्मचारी प्रशस्तै रहेका र उनीहरुको क्षमता पनि अब्बल रहेको उनले स्पष्ट पारे ।

एसपी ओलियाका अनुसार प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ जनाको टोली सो पोष्टमा रहनेछन् ।

अहिले प्रहरी सहायक निरीक्षक दीपा आलेले पोष्टको कमाण्ड गर्नेछन् ।

छिट्टै नै पोखरा औद्योगिक क्षेत्रको पोष्टमा पनि महिला प्रहरी कर्मचारी मात्रै राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।

कास्कीमा भएको नौ सय ६१ दरबन्दीमा एक सय ३५ जना महिला रहेको उनले बताए । कास्की प्रहरीअन्तर्गत ७७ वटा युनिट छन् । कास्कीमा एक जना प्रहरीले करिब एक हजार जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको एसपी ओलियोको भनाइ छ ।

अस्थायी प्रहरी पोस्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपा आलेले प्रहरी सेवामा प्रवेश गरेको २५ वर्षमा पहिलो पटक कमान्ड गर्ने जिम्मेवारी पाएको बताइन् । उनले कुशलतापूर्वक जिम्मेवारी वहन गर्ने बताइन् ।

अस्थायी प्रहरी पोस्टमा आलेसँगै प्रहरी हवल्दार सङ्गीता महतो, जवान देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गङ्गा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली र ममता सिंह छन् ।

Copyright © 2024 | All rights reserved.