0
प्रतिक्रिया
काठमाडाैँ । बेलुन विष्फोट हुँदा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका पौडेल सोमबार दिउँसो डिस्चार्ज भएका हुन् ।
उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ । उनीसँगै उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने हृदयरोग विशेषज्ञको परामर्शमा अस्पतालमै राखिएको छ ।
उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो । आचार्यको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको अस्पतालले जनाएको छ ।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । पोखरामा सामान्य उपचार गरेसँगै दुवैलाई हेलिकप्टरमा कीर्तिपुर बर्नँ अस्पताल ल्याएर भर्ना गरिएको हो ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो । उनको गालाको छाला डढेको छ भने कपाल पनि डढेको छ ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । तुलनात्मक रुपमा पौडेललाई कम असर परेको थियो ।
शुरुआतमा महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको थियो भने उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो ।
Copyright © 2024 | All rights reserved.