0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावलले सुरक्षाबिना कुनै कुरा पूर्ण नहुने भन्दै प्रहरी जनताकै साथमा रहेर अघि बढिरहेको बताएका छन्। पोखरा महानगरपालिका वडा नं १८ सेदीस्थित नवनिर्मित प्रविधियुक्त प्रहरी बिटको उद्घाटन गर्दै रावलले यस्तो बताएका हुन् ।
हरेक क्षेत्रमा सुरक्षा आवश्यक हुने र त्यसका लागि नेपाल प्रहरीको दायित्व महत्वपूर्ण भएको उनले बताए । रावलले भने, ‘स्थानीय शान्ति, सुरक्षा मजबुत बनाउन र अपराधिक गतिविधि नियन्त्रणमा प्रहरी बिटले महत्वपूर्ण भूमिका खेल्छ र आसपास क्षेत्रका नागरिकले प्रहरी सेवामा सहज पहुँच पाउने विश्वास छ ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले नागरिकको सुरक्षामा कुनै कसुर नराखिने स्पष्ट पारे ।
वाइयूके सुपर मार्केटका संचालक युवराज खतिवडाले चार वर्ष अघि सेदीमा आउँदा पश्चिम रुकुम जस्तो अनुभूति गरेको बताए । उनले भने, ‘मलाई लाग्यो अब यहाँ केही विकासको काम गर्नुपर्छ र सुरक्षाको बन्दोबस्त गर्नुपर्छ ।’
‘यहाँ विकासको खाँचो छ र विकासका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन आवश्यक छ भनेर म अघि बढेको हुँ’, खतिवडाले भने, ‘प्रहरी विट स्थापनाका लागि जनप्रतिनिधि रमेश थापा, सामुदायिक प्रहरी जिल्ला समन्वय समिति अध्यक्ष भीम पराजुली, राम राईलगायत स्थानीयको ठूलो भूमिका छ ।’
खतिवडाले लगानी गर्न र त्यसको प्रवर्द्धनका लागि सुरक्षा पहिलो सर्त भएकोले बैदाम प्रहरीसँगको समन्वय र भूमिका राम्रो भएको बताए । उनले नागरिककाे सुविधाका लागि वाईयूके सुपर मार्केट नजिकै सुविधासम्पन्न गाडीको सरसफाई युनिट र इभी गाडीको चार्जिङ सेन्टर स्थापना गरिएको छ ।
वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी निरौलाले १२ वटा सीसी क्यामेरा जडान गरिएको प्रविधियुक्त प्रहरी बिटको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान रहने बताए । उनले दुईवटा क्यामेरा सडकमा गुड्ने सवारी साधनको नम्बरलाई कैद गर्ने क्षमताका भएको बताए ।
Copyright © 2024 | All rights reserved.