बैशाख ०४, २०८२, बिहीबार

पुम्दीकोटको महायज्ञमा भक्तजनको भिड


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । ‘समृद्धि र विकास, वेरोजगार र विदेश पलायन हुनेका लागि निकास’ भन्ने उद्देश्का साथ पोखरा-२२ पुम्दीकोटमा कैलाशधाम निर्माणका लागि आयोजित ज्ञान महायज्ञमा भक्तजनको भिड लागेको छ ।

महायज्ञमा आइतबार गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी पुगेका थिए । भागवत मञ्जरी राधिका दासीको श्रीमद्भागवत वाचनमा भक्तजनको घुइँचो लागेको कार्यक्रम संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।

बरालका अनुसार आइतबार मात्रै करिब २० हजार भक्तजन पुम्दीकोट पुगेका छन् । कार्यक्रममा स्वतःस्फुर्त रूपमा विभिन्न संघसंस्था एवं आमा समूहले भक्तजनको व्यवस्थापन, प्रसाद वितरणलगायत कार्यमा सहयोग गरेका छन् । हरेक साँझ हुने महाआरती कार्यक्रममा पनि भक्तजनको उल्लेख्य भिड लाग्ने गरेको छ ।

महायज्ञको विभिन्न धार्मिक च्यानल, युटुब, सामाजिक सञ्जाल र हल्लनचोक लेकसाइड र पोखरा सभागृह चोकको ठूलो पर्दाबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

महायज्ञ अवधिभर पोखरादेखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा सञ्चालन भएको समिति सल्लाहकार मातृका बरालले जानकारी दिए ।

पोखरा-१७ विरौटा, बराल फिड, छोरेपाटन हुँदै पुम्दीकोटसम्म बिहान ९ बजेदेखि यातायातको व्यवस्थापन हुने बरालले जानकारी दिए ।

महायज्ञमा धार्मिक अनुष्ठानका अलावा श्रीमद्भागवत वाचन तथा विभिन्न कलाकारमार्फत धार्मिक नाटक झाँकी प्रदर्शनलगायत दानदाता सम्मान कार्यक्रम जारी छ।

धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यसअघि पुम्दिकोटमा विस २०७३ र ०७९ सालमा धार्मिक महोत्सव गरिएको थियो ।

२०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजको मुखारबिन्दुबाट महायज्ञ सम्पन्न भएको थियो । त्यसपछि २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ गरिएको थियो ।

यस पटकको महायज्ञमा दानराशिका आधारमा एक हजार रुपैयाँसम्मका दानलाई दान पेटिकामा खसालिने, एक हजारदेखि तीन हजारसम्म दान गर्ने दाताको नाम अभिलेखमा राखी रसिद प्रदान गरिने, तीन हजार एक रुपैयाँदेखि पाँच हजार रुपैयासम्म दान गर्ने दातालाई प्रमाणपत्रद्वारा सम्मान गरिने, पाँच हजार एक रुपैयाँदेखि १० हजारसम्म दान गर्ने दातालाई फ्रेमसहितको प्रमाणपत्रद्वारा रामनामीले सम्मान गरिने बताइन्छ ।

यसैगरी १० हजार एकदेखि २५ हजार रुपैयाँसम्म दान गर्ने दातालाई फ्रेमसहितको प्रमाणपत्र प्रदान गर्नुका साथै दाताको नाम शिलालेखमा लेखिनेछ ।

यस्तै २५ हजार एकदेखि ५० हजार रुपैयाँसम्म दान गर्नेलाई सम्मानसहित भजनकीर्तनले स्वागत, मञ्चबाट नाम घोषणा, शिलालेखमा नाम राखिने, ५० हजार एकदेखि एक लाखसम्म दान गर्नेलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिनेछ भने एक लाख एकदेखि दुई लाख २५ हजार नौ सय ९९ सम्म दानगर्नेलाई आकर्षक मायाको चिनो प्रदान गरिनेछ ।

दुई लाख २५ हजारदेखि पाँच लाखसम्म दान गर्ने दातालाई थप सम्मानसहित परिसरभित्र रहेका कुनै एक शिवलिङ्ग उनको नामबाट स्थापित गरिनेछ भने पाँच लाखदेखि माथि दान गर्नेलाई आयोजक समितिको निर्णयले उचित सम्मान दिइने समिति व्यवस्थापक रुद्रनाथ पौडेलले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.