0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीद्वारा सञ्चालित स्मल हेभन मन्टेश्वरीमा दोस्रो खुला बजार मेला सम्पन्न भएको छ । बालबालिकालाई आत्मविश्वासी र व्यवहारिक बनाउन शुक्रबार मेला आयोजना गरिएको थियो ।
मेलामा मन्टेश्वरीमा अध्ययनरत बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए । मेलामा मन्टेश्वरीले राखेका विभिन्न सामग्री बालबालिकालाई किन्न सिकाइएको थियो ।
उक्त अवसरमा पोखरा न्यूरोडको पैरवी हेल्थ एण्ड डेन्टल केयर प्रालिसँगको सहकार्यमा नाक, कान र घाँटी तथा मुख, गिजा, दन्त परीक्षण एवं शिक्षा कार्यक्रमसमेत भएको थियो । कार्यक्रममा बालबालिकाले निःशुल्क परीक्षण गराउनुका साथै मुख स्वास्थ्यसम्बन्धी शिक्षा हासिल गरेका थिए ।
विद्यालयका अध्यक्ष शिवबहादुर भण्डारीले व्यावहारिक शिक्षा दिनका लागि मेलाको अवधारणा अघि बढाइएको बताए । ‘सानै बालबालिका बजारमा गएर आफै समान किन्ने, पैसा दिन र फिर्ता लिन सक्ने गरी आत्मविश्वासी बनाउने उद्देश्य हो, यसले बालबालिकालाई व्यावहारिक बनाउने विश्वास छ ।’
विद्यार्थीलाई व्यवहारिक बनाउन समयसापेक्ष अन्य रचनात्मक गतिविधिसमेत सञ्चालन गरिने उनले बताए ।
मन्टेश्वरीका इञ्चार्ज पुनम गुरुङले बालकालिकालाई बजारको बारेमा सिकाउन मेला आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘एक त समानको मूल्य कति थियो, पैसा कति दिइएको थियो र कति फिर्ता पाइयो भन्ने विषयमा नम्बरसँग खेल्न पनि महत्वपूर्ण भूमिका हुन्छ ।’
मन्टेश्वरीमा बालबालिकाले कितावको ज्ञानमा सीमित नभई ‘चिल्ड्रेन लर्न टु फन’ माध्यमबाट सिक्न पाउने उनले बताइन् । उनले बालबालिकालाई धेरै प्रकारका व्यवहारिक ज्ञान सिकाउने गरिएको स्पष्ट पारिन् ।
Copyright © 2024 | All rights reserved.