0
प्रतिक्रिया
पोखरा । पोखरा र जनकपुरका व्यवसायीले आपसी सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । जाउँ है पोखरा अभियानअन्तर्गत जनकपुरमा सोमबार आयोजित कार्यक्रममा पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
मधेश प्रदेशका उद्योग, वाणिज्य एवं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा–जनकपुर बीच हवाई सेवा सञ्चालनमा जोड दिए ।
मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अवगत पनि उनले गराए । व्यवसायी एकापसमा मिलेर पर्यटन क्षेत्रलाई थप अघि बढाउन सकिने उनले सुझाव राखे ।
होटल संघ पोखराका अध्यक्षसमेत रहेका अभियान संयोजक लक्ष्मण सुवेदीले जनकपुरवासीलाई पोखरा भ्रमणको निम्ता गरे ।
मधेश प्रदेशका सांसद राम आशिष यादवले पोखरा र जनकपुरले एकर्कासँग सिक्न जरुरी भएको भनाइ राखे । सत्कार, सुविधा र सुरक्षाले पर्यटन अघि बढ्न सक्ने स्मरण उनले गराए ।
होटल संघका केन्द्रीय सदस्य विजयकुमार झुनझुनवालाले हिन्दू धर्मको महत्व अनुसार प्रचारप्रसार अघि बढ्न नसक्नु दुःखद पक्ष भएको बताए ।
जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीले पोखराले धार्मिक पर्यटक आकर्षण गर्ने उपाय अघि बढाउनुपर्ने सुझाव राखे ।
बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिका उपाध्यक्ष किरण पोखरेलले प्रालिले सञ्चालन गरेको परियोजना र सेवासुविधाका बारेमा जानकारी गराएका थिए ।
नेपाल टुर एण्ड ट्राभल एशोसिएशन मधेश प्रदेशका अध्यक्ष मोहनकुमार शर्माले पोखरा साहसिक पर्यटनका हिसाबले थप अघि बढ्न सक्ने सुझाव राखे ।
पाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहले पोखराका एक हजार दुई सय होटलमा १५ हजार जनाले रोजगारी पाउनु सकारात्मक पक्ष भएको बताए ।
व्यवसायी वीरेन्द्र शाहले पोखरामा मधेशी पर्यटकलाई सम्मानित व्यवहार गर्न आग्रह गरे ।
संघका उपाध्यक्ष गणेशराज पहारीले पोखरा र जनकपुर बीच धार्मिक एवं पर्यटनका हिसाबले धेरै समानता रहेको भन्दै आपसी सहकार्यका लागि आव्हान गरे ।
कार्यक्रममा संघले जाउँ है पोखराका विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको छ । घुमघाम, बसाई र खानपान सम्बन्धित यी प्याकेज पाँच हजार रुपयाँदेखि २६ हजार रुपैयाँ बीचका छन् । होटल संघका सचिव पार्वता पाण्डेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.