0
प्रतिक्रिया
पोखरा । सूर्यतारा क्लब पोखराले यही फागुन २४ देखि ‘दोस्रो सूर्यतारा खेल महोत्सव’ आयोजना गर्ने भएको छ । चैत २ गतेसम्म सञ्चालन हुने कार्यक्रम पोखरा-२९ भण्डारढिकस्थित रङ्गशालामा सञ्चालन हुने कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
महोत्सवमा नेकोस कप फुटबल प्रतियोगिता मुख्य आकर्षण रहनेछ । प्रतियोगितामा प्रथम हुनेले चार लाख चार हजार चार सय ४४ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्ने उनले बताए ।
द्वितीय हुने टोलीले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा १२ टिम सहभागी गराउने आयोजकको तयारी छ । फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर नेपाल खेलकुद महासङ्घ रहेको संयोजक पुनले खुलाए ।
फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत आयोजना गरिनेछ ।
महोत्सव उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नेछन् भने समापन सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।
महोत्सवमा ३५ हजार दर्शक सहभागी हुने र १५ लाख दर्शकले विभिन्न माध्यमबाट अवलोकन गर्ने आयोजकको अनुमान छ ।
पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार समिति संयोजक शिवराज सुवेदी र क्लबका सल्लाहकार शिव अधिकारीले बोलेका थिए ।
फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनल र क्वाटरफाइनल हेर्ने दर्शकका लागि एक सय तथा सेमिफाइनल र फाइनल हेर्ने दर्शकका लागि दुई सय रुपैयाँको टिकट व्यवस्था गरिनेछ ।
समापन कार्यक्रममा रचना रिमाललगायतका कलाकारको प्रस्तुति रहने बताइन्छ । महोत्सव सञ्चालन गर्न ८३ लाख खर्च हुने र त्यसको व्यवस्थापनसहित केही रकम बचत गर्ने आयोजकको लक्ष्य छ ।
Copyright © 2024 | All rights reserved.