बैशाख ०४, २०८२, बिहीबार

रूपा वाङ्मय प्रतिष्ठानको खुला कविता प्रतियोगितामा सृष्टि लामिछाने प्रथम


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । रूपा वाङ्मय प्रतिष्ठानले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको विद्यालयस्तरीय खुला कविता प्रतियोगितामा तथा विविध साहित्यिक, साँस्कृतिक कार्यक्रममा डायमण्ड माविकी छात्रा सृष्टि लामिछानेको परिवर्तन कविता प्रथम भएको छ ।

यस्तैगरी सैनिक आवासीय महाविद्यालयका उमङ्ग कुँवरको म यसरी फुल्दैछु द्वित्तीय, त्रिभुवन शान्ति मा.वि. कि सुजता सापकोटाको आमाको महिमा तृतीय र सैनिक आवासीय महाविद्यालयकी कृतिका रानाभाटको नारी तिमी हौँ र रुपाज्योती मा.वि. कि ममता सुवेदीको नारी अब उठौँ कविताले सान्त्वना स्थान हाँसिल गरेका छन् । कार्यक्रमको निर्णायकमा सञ्जीव पौडेल, सुरज उपाध्याय र रेशम गिरी थिए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाइ क्रमशः चार, तीन, दुई र एक हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक सुजन गौतम भुजुले जानकारी दिए ।

कार्यक्रममा झलक गुरुङ, नविना सुवेदी, पार्थराज सुवेदी, सुजन रानाभाट, विश्वास साधक, विवेक अधिकारी, शर्मिला बसौला, सुजन गौतम भुजु र विना ढुङ्गानाले आफ्नो प्रस्तुति राखेको थियो भने बलभद्र कुमाल, बिमल बाबू न्यौपाने, डा. निरन्जन कोइराला, राजन सुवेदी र दिपेन्द्र गौतमले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्दै रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यस्ता कार्यक्रमले सिङ्गो गाउँपालिकाको साहित्य, कला तथा संगितको बिकासका लागि सहयोग गर्ने र रूपा वाङ्मय प्रतिष्ठानको श्रीबृद्दिका लागि गाउँपालिका सधै सकारात्मक रहेको र आगामी कार्यक्रमहरुमा पनि समन्वय गर्ने प्रतिबद्दता जाहेर गरे ।

वङ्गमय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले वङ्गमय प्रतिष्ठानको पहिलो कार्यक्रम हर्षउल्लासका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सबै सहभागीहरूलाई आभार व्यक्त गरे ।

उनले भने, “यस कार्यक्रमको सफलतामा तपाईंहरूको सहयोग र सहभागिता अत्यन्त महत्त्वपूर्ण थियो । हामीले यो कार्यक्रमसँगै नयाँ युगको आरम्भ गरेका छौं र भविष्यमा अझ ठूलो काम गर्नका लागि तपाईंहरूको निरन्तर समर्थन र प्रेरणा आवश्यक छ ।’

अध्यक्ष पोखरेलले यस कार्यक्रमको आयोजना गर्ने अवसर प्राप्त भएकोमा गौरव अनुभव गर्दै प्रतिष्ठानले साहित्य र सांस्कृतिक क्षेत्रमा नयाँ दिशा दिने उद्देश्यलाई पूरा गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

रूपा-३, पोल्याङमा सम्पन्न भएको उक्त कार्यक्रम त्यहाँका सम्पुर्ण महिला समूहहरुको विशेष सक्रियता र सहभागितामा सम्पन्न भयो।

रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन घिमिरेले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.