0
प्रतिक्रिया
पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा डिजिटल साक्षरता तथा ईप्रशासन विषयक कार्यशाला सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले सेवा प्रदायक कर्मचारी प्रविधिसँग अभ्यस्त हुन आवश्यक भएकाले कर्मचारीको क्षमता तथा दक्षता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएकाको बताए ।
विजुक्छेले प्रविधिको बढ्दो प्रयोग गर्दा शैक्षिक प्रशासनमा नयाँ अवसर सिर्जना गर्ने भएकाले सिक्ने र सिकाउने समयको उपयोग गर्दै कर्मचारीलाई निपूर्ण बन्न आग्रह गरे ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले विश्वविद्यालय अनुदान आयोगबाट जनप्रिय लिड क्याम्पसका रूपमा छनोट भएकाले गण्डकी प्रदेशभित्रका सामुदायिक क्याम्पसका शिक्षक तथा कर्मचारीको दक्षताका लागि कार्यशाला तय गरिएको बताए ।
बरालले प्रशासन, लेखा, परीक्षा, पुस्तकालयमा कार्यरत कर्मचारीलाई डिजिटल साक्षरता सहित प्रविधिमैत्री प्रशासन चलाउनका लागि कार्यशाला प्रभावकारी हुने बताए ।
सूचना प्रविधि र ईप्रशासनको उपयोग, डिजिटल प्रणालीमा आधारित कागजात व्यवस्थापन, सूचना सुरक्षाका उपाय तथा प्रभावकारी प्रशासन सञ्चालनका विषयमा कम्प्युटर ल्यावमा प्रशिक्षण प्रदान गरिने आइटी सपोर्ट युनिटका संयोजक तथा स्रोतव्यक्ति यामकुमार बरालले जानकारी दिए ।
कार्यशालामा पोखरास्थित कालिका बहुमुखी क्याम्पस, जनप्रकाश बहुमुखी क्याम्पस, कालिका पब्लिक कलेज, शिवशक्ति क्याम्पस, भद्रकाली बहुमुखी क्याम्पस, कन्या क्याम्पस गरी सात वटा सामुदायिक क्याम्पसका प्रशासनिक कर्मचारी सहभागी थिए ।
क्याम्पस प्रशासनलाई प्रविधिमैत्री बनाउने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा आधुनिक प्रविधिको अधिकतम् उपयोग गरी शैक्षिक संस्थाको कार्यसम्पादन सुधार गर्ने उद्देश्य रहेको जानकारी उपप्रशासक एकनारायण अर्यालले दिए ।
क्याम्पस प्रमुख बरालको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी संघ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरुले स्वागत तथा उपप्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.