0
प्रतिक्रिया
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कार्यसमिति सदस्यमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त सहसचिव र तीन सदस्य कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।
अधिवेशन उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले समामार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चूनौति सामना गर्नुपर्ने बताए । समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकार एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो ।
‘समाचारका लागि फोटो अति आवश्यक चिज हो, अर्को अर्थमा भन्नुपर्दा समाचार आज लेख्यो भोली पुरानो हुन सक्छ तर फोटो कहिल्यै पुरानो हुँदैन्,’ उनले भने, ‘समचारको महत्वपूर्ण पाटो फोटो खिच्ने पत्रकारहरु एकजुट हुनु आवश्यक छ र रहिरहनेछ ।’
कास्कीका फोटो पत्रकारले सिर्जनात्मक काम गर्नुपर्नेमा उनको जोड थियो । फोटो पत्रकारका हरेक गतिविधिमा पत्रकार महासंघको सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्व जति छ त्यो भन्दा बढि फोटो पत्रकारको महत्व रहेको बताए ।
फोटो बिना समाचार र पत्रकार अपुरो हुने भएकाले आगामी दिनमा पत्रकार महासंघ र नेपाल फोटो पत्रकार संघ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२/०६३ को जनआन्दोलनको समयमा एकजुट भएका फोटो पत्रकारहरुको संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनीलगायत अन्य रचनात्मक कार्यक्रम गर्दै आएको बताए ।
संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले २०६२/०६३ को जनआन्दोलन क्रममा तस्विर खिच्ने क्रममा बिभिन्न समस्या भोग्नु परेपछि आन्दोलनकै दौरानमा स्थापना भएको संस्था अहिलेको अवस्थामा आईपुगेको बताए ।
२०५३ सालमा काठमाण्डौंमा खोलिएका राष्ट्रिय फोटो पत्रकार समूह नेपालको शाखाका रुपमा स्थापित संस्था केन्द्रमा गुटबन्दीमा परी टुटफुट भएको अवस्थामा कास्की एक भएर अघि बढिरहेको उनले सुनाए ।
पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले केन्द्रमा केन्द्रले २०७४ सालमा गरेको भद्र सहमति र निर्णय लत्याएपनि कास्कीमा केन्द्रकै निर्णय अनुसार दर्ता गरिएको नेपाल फोटो पत्रकार संंघ कास्की विना कुनै गुटबन्दी अहिलेसम्म चलिरहेको जानकारी दिए ।
फोटो पत्रकारहरुको अर्को संस्था फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले फोटो पत्रकारहरु एकजुट हुनुपर्ने सन्देशसहित आफूहरुको संस्था नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरेको छ ।
२०६७ सालमा कास्कीमा स्थापना भएको फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था एनपिजए कास्कीमा गाम्ने घोषणा गरेका हुन् ।
Copyright © 2024 | All rights reserved.