0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मासबारस्थित मारीया मन्टेश्वरी प्रिस्कुल एण्ड चाइल्ड केयर सेन्टरको छैटौं अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा युकेजी कक्षाका २२ जना बालबालिका दीक्षित भए ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले छोटो समयमै मारीया मन्टेश्वरी स्थापित शैक्षिक संस्थाको रुपमा अघि बढेको बताए । उनले भौतिक पूर्वाधार र संरचनाका हिसाबले महानगरकै उत्कृष्ट मन्टेश्वरीमध्येको एक रहेको बताए ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बाल शिक्षाका लागि विद्यालयलाई सिकाइको थलो बनाउनुपर्नेमा जोड दिए । शिक्षण सिकाइ क्रियाकलापका लागि मारीया मन्टेश्वरीले आफूलाई स्थापनाकालदेखि सक्षम राखेको उनले बताए ।
शिक्षा अधिकृत रामप्रसाद तिवारीले मन्टेश्वरीले बालबालिकामा निराशा होइन आशा जगाउनु पर्ने बताए । उनले बालबालिकाका प्रतिभा प्रस्फुटन गर्न उत्प्रेरणा सहितको शिक्षण सिकाइको अभ्यास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्टेश्वरी एशाेसियशन कास्कीका अध्यक्ष भवानी अधिकारी बराल, अभिभावक भोजराज तिवारी र नीतु पौडेलले पनि बोलेका थिए ।
कार्यक्रममा प्रारम्भिक बाल कक्षादेखि कक्षा २ सम्मका बालबालिकाले सांस्कृतिक भेषभूषामा शास्त्रीय संगीत, नृत्य, गायन, नाटकसहित योगा प्रस्तुत गरेका थिए ।
मन्टेश्वरीका अध्यक्ष विष्णुहरि बरालको अध्यक्षतामा भएको कार्यक्रममा रेश्मा प्रधानले स्वागत, प्राचार्य मीना सपकोटाले मन्टेश्वरीका गतिविधिमाथि प्रकाश पारेकी थिइन् भने शिक्षिका चन्दा गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.