0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगाैँडास्थित जानकी माध्यमिक विद्यालयलाई सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । धार्मिक क्षेत्रको आम्दानीबाट सो समितिले विद्यालयलाई २५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको हो ।
चैतको ७ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ विद्यालयमा आयोजित स्थानीय संघसंस्था, सल्लाहकारसहितको बैठकमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले उक्त रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
मन्दिर व्यवस्थापन समितिले गत माघेसंक्रान्ति ढुङ्गेसाघु मेलाका अवसरमा भएको आम्दानीबाट केही रकम छुट्याएर विद्यालयलाई सहयोग गरिएको हो । मन्दिरले व्यापार व्यवस्थापन र भक्तजनबाट चार लाख भन्दा बढी आम्दानी गरेको अध्यक्ष शर्माले जानकारी दिए ।
सामुदायिक विद्यालय भौतिकरुपमा सम्पन्न भए पनि प्रशासनिक एवं आन्तरिक खर्च व्यवस्थापन विभिन्न संघसंस्था तथा शिक्षाप्रेमी व्यक्तिहरुको सहयोग महत्वपूर्ण रहँदै आएको प्रधानाध्यापक अर्जुन कंडेलले जानकारी दिए ।
विद्यालयमा हाल चार सय विद्यार्थी अध्ययनरत छन् ।
चार सामुदायिक र छ संस्थागत गरी १० वटा विद्यालयको एसईई परीक्षा केन्द्र रहेको जानकी माविको परीक्षालाई व्यवस्थित, भयरहित र मर्यादित बनाउन बैठकले सामुहिक प्रतिवद्धता जाहेर गरेको छ ।
Copyright © 2024 | All rights reserved.