बैशाख ०४, २०८२, बिहीबार

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता


Advertisement Image
clock icon 4 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडीपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट बीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्रीले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडीपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए ।

मुख्यमन्त्रीले युएनडीपीले दिगो विकास, फोहोर मैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशभित्र गर्दै आएको सहयोगको प्रशंसा गरे ।

मुख्यमन्त्रीले भने, ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायु परिर्वतनलगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडीपीसँग सहकार्य गर्न हामी तयार छौँ ।’ 

सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती विस्तार गर्न र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने मुख्यमन्त्रीको विश्वास छ ।

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा आफ्ना प्राथमिकताको क्षेत्र पहिचान गरेकाले सो क्षेत्रमा सहकार्य हुँदा प्रदेशवासीले ठूलो उपलब्धी हासिल गर्न सक्ने मुख्यमन्त्रीले बताए ।

युएनडीपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) सञ्चालनमा छ । यो कार्यक्रमले स्थानीय तह र प्रदेशको क्षमता विकास, सशक्तीकरणको क्षेत्रमा सहयोग पुगेको मुख्यमन्त्रीले बताए । 

‘संघीयता कार्यान्वयनपछि प्रदेश संरचना हाम्रो लागि नयाँ हो, कानुन निर्माण, आवधिक योजना, क्षमता विकास, लैङ्गिक सामाजिक समावेशिकरण, राजस्व सुधारका क्षेत्रमा यो परियोजनाको ठूलो सहयोग छ’, मुख्यमन्त्रीले भने ‘सबैजसो स्थानीय तहमा यो परियोजना माग भएकाले कार्यक्षेत्र बिस्तार गर्न सक्दा अझै प्रभावकारी हुन्छ ।’

नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको टुरिजम, खेल टुरिजम, धार्मिक टुरिजमको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने उनले बताए ।

युएनडीपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारिक कार्यक्रम भएको बताए । उनले भने ‘गण्डकी प्रदेश सरकारसँग भेटघाट र सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ।’ 

पिएलजिएसपी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका कार्यक्रमको प्रभावकारिताका बारेमा पनि उनले चासो राखेका थिए ।

भेटमा युएनडीपीको सहकार्यमा संचालन भईरहेको पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो ।

गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराएका थिए । 

भेटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडीपीका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका लगायत प्रतिनिधि मण्डल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधि सहभागी थिए । 

Copyright © 2024 | All rights reserved.