बैशाख ०४, २०८२, बिहीबार

विज्ञान, प्रविधि र नवप्रवर्तन प्रगति र समृद्धिका मुख्य चालक हुन् : प्रदेश प्रमुख भट्ट


Advertisement Image
clock icon 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताएका छन् ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु विज्ञान, प्रविधि र नवप्रवर्तनमा हालका प्रवृत्तिसम्बन्धी सम्मेलन (आरटीएसटीआई २०२५) मा प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश र नेपालभर विज्ञान र नवप्रवर्तनको प्रगतिका लागि यस्ता सम्मेलन उपयोगी रहेको बताए ।

गण्डकी प्रदेशले दीगो, ज्ञानमूलक अर्थतन्त्रको परिकल्पना गरेकोमा यस्ता संस्थाले अनुसन्धान, शिक्षा र नीति सिफारिसमा अग्रणी भूमिका खेल्ने भन्दै भट्टले पोखरा विश्वविद्यालयले कुशल अनुसन्धानकर्ता र प्राविधिक तयार पार्दै नेपालको सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

‘सन् २०२२ मा सुरु भएदेखि नै आरटीएसटीआईले वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक, नीति निर्माता र उद्यमीहरूलाई एकठाउँ गरी नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको भविष्य आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने ।

उनले थपे, ‘सम्मेलनका पूर्व संस्करणहरूको प्रभावकारिताले यसको बढ्दो महत्वलाई देखाउँछ, यस वर्ष पोखरा विश्वविद्यालयको नेतृत्वमा विकास र अनुसन्धान उत्कृष्टता प्रवर्द्धन गर्न चालिएको यो कदम पनि लाभदायक हुने विश्वास व्यक्त गर्दछु ।’

गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीले सन् २०२० मा स्थापना भएदेखि नै वैज्ञानिक अनुसन्धान, प्रविधिगत प्रगति र नवप्रवर्तनलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

‘हामी प्रविधिगत परिवर्तन र विश्वव्यापी चुनौतीको माझमा उभिएका छौँ, यस चुनौतीको सामना गर्दै अघि बढ्न समयानुकूल अनुसन्धान, नवप्रवर्तन र नीतिगत हस्तक्षेपका साथैसाथै अगाडि लैजानुपर्ने हुन्छ’, प्रदेश प्रमुख भट्टले भने ।

यस्ता सम्मेलन वैज्ञानिक प्रगति छलफल गर्ने मञ्च मात्र होइन, बरु एसटीआई अनुकूल शासन, उद्योग सहकार्य र उद्यमशीलतालाई समर्थन गर्ने नीतिलाई आकार दिने अवसर पनि रहेको भट्टले बताए ।

सबै मिलेर अनुसन्धानलाई वास्तविक जीवनमा प्रभाव पार्ने, नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने र गण्डकी प्रदेशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नेतृत्व गर्ने केन्द्र बनाउने प्रयासमा हातेमालो गर्दै अघि बढ्न पनि उनले आह्वान गरे ।

तीन दिने सम्मेलनमा नेपाल र अन्य देशबाट दुई सय भन्दा बढी अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थी सहभागी छन् ।

Copyright © 2024 | All rights reserved.