0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् ।
चीनको सिछुवान प्रान्तका पर्यटन तथा संस्कृति विभाग प्रमुख वाङ यानसँगको भेटवार्ताका क्रममा आचार्यले यस्तो बताएका हुन् ।
उनले गत वर्ष पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको र पोखरामा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निरन्तरको प्रयासस्वरुप पहिलो व्यावसायिक चाटर्ड उडान गरिएको प्रमुख आचार्यले बताए ।
चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्नुका साथै पोखरा भ्रमण वर्ष पनि घोषणा भएको उल्लेख गर्दै उनले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई पोखरासहित नेपालको भ्रमण गर्न विभाग प्रमुख लिनसँग आग्रह गरे ।
चीनको सिछुवान प्रान्तका पर्यटन तथा संस्कृति विभाग प्रमुख लिनले दुवै देशका भूभाग हिमालको काखमा रहेका र यहाँका मौसम पनि मिल्दोजुल्दो भएको बताए ।
छन्दु–पोखरा उडानलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै उनले यसका लागि पर्यटक लक्षित योजना तयार गर्न महानगरलाई सुझाव दिए । छन्दुमा यही मे महिनामा पर्यटन व्यवसायीको सम्मेलन हुन लागेको जानकारी गराउँदै उक्त सम्मेलनमा सहभागी भई लाभान्वित हुन लिनले आग्रह गरे ।
छन्दुका लागि नेपालका महावाणिज्यदूत सुरेश राउतले सन् २०२१ देखि छन्दुमा महावाणिज्य दूतावास स्थापना भएको जनाउँदै आर्थिक कूटनीतिको महत्वपूर्ण पाटो पर्यटन पनि रहेको बताए ।
पोखरा पर्यटकीय रूपमा सुन्दर गन्तव्यका साथै आतिथ्यताका दृष्टिबाट अब्बल भएको बताउँदै उनले चीनबाट धेरै पर्यटक पठाउन आवश्यक समन्वय गर्ने उल्लेख गरे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिछुवान प्रान्तको छन्दुमा पहिलो व्यावसायिक चाटर्ड उडानपछि महानगरप्रमुख आचार्य र विभाग प्रमुख लिनबीच भेटवार्ता भएको हो ।
पोखराबाट छन्दुको नियमित उडान एवं पर्यटकीय साझेदारीलाई लक्षित गरी छलफल भएको महानगरपालिकाको कार्यालयले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.