बैशाख ०४, २०८२, बिहीबार

दुर्गा मन्दिरमा कोटी दीप प्रज्ज्वलन गरिने


Advertisement Image
clock icon 3 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित दुर्गा मन्दिर नवग्रह शान्ति पाठ, रुद्राभिषेक र कोटी दीप प्रज्वलन हुने भएको छ ।

मन्दिर व्यवस्थापन समितिले यही चैत २३ गते चैत्राष्टमीको अवसरमा जगतको शान्ति र संमृद्धि, लोककल्याण, नवग्रह शान्ति, पितृ उद्धार एवं दुर्गा मन्दिर शक्तिपीठ धामको श्रीवृद्धिका कार्यक्रम आयोजना गरेकाे हाे ।

विन्ध्यवासिनी मन्दिरका व्यासासिन पण्डित डा. भोलानारायण रेग्मी मुख्य वाचक र अन्य गुरुद्वारा सहस्र सप्तचण्डी मन्त्रजप, सहस्रवन, नवचण्डीपाठ, वेदपाठ, देवी महिमा प्रवचन, नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दीप प्रज्वलन एवं प्रसाद वितरण हुने बताइन्छ ।

कोटी दीप प्रज्ज्वलनको पूर्व सन्ध्यामा वाजा गाजा, भजनकीर्तनसहित शिव पार्वती झाँकीद्वारा छोरेपाटन बजार परिक्रमा गरिने भजन संयोजक हिमलाल उपाध्यायले बताए ।

मन्दिरमा दुर्गा माताको आराधना, पूजापाठ तथा भक्तद्वारा पूजाआजा गर्दै आइरहेका छन् । मन्दिरमा भक्तजनद्वारा गणेश मन्दिर, सन्तोषी माताको मन्दिर, रातो मच्छिन्द्रनाथको मन्दिर, १०८ शालिग्राम, १०८ शिवलिङ्ग स्थापना गरिएको थियो ।

मन्दिरको विशेष आम्दानीको श्रोतको रुपमा भक्तजनको विशेष सहयोगमा नवदुर्गा पूजा महोत्सव, शनि त्रयोदशी, विशेष पूजा महोत्सव, मंगलचौथी पूजा एवं शिवरात्री पूजा सहयोग आदिबाट दैनिक पूजा चल्दै आएको दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद अधिकारी (शर्मा)ले बताए ।

पोखरा महानगरपालिका वडा नं. १७ र २२ को सिमानामा रहेको दुर्गा मन्दिर शक्तिपीठ धामको स्थापना २०३७ सालमा भएको र एकादशी तिथिको पावन दिनमा स्वर्गीय रुद्रनाथ बराल र शशीधर बरालबाट जग्गा प्राप्त गरी तत्कालीन दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको परिकल्पनामा स्थापना भएको समिति वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज बरालले बताए ।

मन्दिरमा अवनेश्वर शिव मन्दिर, गण्डकी प्रदेशको एकमात्र १०८ पिपल पुण्यधाम र सूर्यचक्र शनिदेव शीला स्थापना गरिएको छ ।

साथै विभिन्न देवीदेवताका मूर्ति विग्रह स्थापना गरी आफ्नो दैनिक पूजापाठका लागि समितिद्वारा पण्डित रामप्रसाद नेपाललाई पण्डित नियुक्ति गरी विगत वर्षदेखि दैनिक पूजापाठ एवं आराधना गरिँदै आएको उपाध्यक्ष मोहनलाल पौडेलले बताए ।

Copyright © 2024 | All rights reserved.