0
प्रतिक्रिया
पोखरा । देशकै ठूलो पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज हुँदैछ । पोखरा-१ बगरस्थित क्याम्पस परिसरमा आज बिहान ८ देखि मतदान शुरु हुने निर्वाचन समिति संयोजक प्राडा रामचन्द्र पोखरेलले पोखरा दर्पणलाई जानकारी दिए ।
मतदानपूर्व विद्यार्थीका प्रतिनिधिसँग छलफल भइरहेको र ८ बजेदेखि मतदान शुरु हुने उनले जानकारी दिए । योपटक निर्वाधरुपमा सम्पन्न हुनेमा निर्वाचन समिति विश्वस्त रहेको उनले बताए ।
गत ५ चैतको निर्धारित निर्वाचनमा मतदान शुरु हुनै लाग्दा मतपत्रमा त्रुटि भेटिएपछि उत्पन्न विवादले निर्वाचन रोकिन पुगेको थियो । मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुटेपछि विवाद सिर्जना भएको थियो ।
निर्वाचन अधिकृत पोखरेलले चैत ६ गतेका लागि मतदानको कार्यतालिकासहित सूचना जारी गरे पनि साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेपछि अनिश्चितकालसम्म निर्वाचन स्थगन गरिएको थियो ।
चैत ६ गते निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको सर्वपक्षीय बैठकले चैत १० गते निर्वाचनको नयाँ मिति तोकेको हो । निर्वाचनमा क्याम्पसका नौ हजार दुई सय ७० जना विद्यार्थी सहभागी हुँदैछन् ।
क्याम्पसमा २२औं स्ववियु अध्यक्षका लागि दुई स्वतन्त्रसहित आठ जना अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । २१ सदस्यीय समितिका लागि १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।
समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एक जना उपाध्यक्ष र एक जना सहायक सचिव हुने व्यवस्था छ । निर्वाचनका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन् ।
Copyright © 2024 | All rights reserved.