0
प्रतिक्रिया
पोखरा । पोखरास्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । कलेजका स्नातक तह द्वितीय वर्षका विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा प्रथम वर्षमा अध्ययनरतलाई स्वागत गरिएको थियो ।
लेकसिटीले स्नातक तहमा बीबीएस, बिएएसडब्लु (समाजसेवा) र बीएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य विषयमा पठनपाठन गर्दै आएको छ ।
कलेज संचालक समिति अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विश्वविद्यालय शिक्षाका लागि पहिलो खुड्किलाको रुपमा लेकसिटीलाई रोजेको भन्दै विद्यार्थीलाई स्वागत गरे ।
उच्च शिक्षाको यात्रा प्रारम्भ गरेसँगै विद्यार्थीले केही महत्वपूर्ण कुरा स्मरण गर्नुपर्ने अध्यक्ष पराजुलीको भनाइ थियो । ‘अब लेकसिटी कलेजमा तपाईंहरु नयाँ अवसर, चुनौती र सफलतासँग भरिएको यात्रामा प्रवेश गर्दै हुुनुहुन्छ’, उनले भने ।
विश्वविद्यालय शिक्षा धेरै सफल मान्छेको जीवन परिवर्तन गर्न कोषेढुंगाको रुपमा रहेको उनको भनाइ थियो ।
धेरैले आफ्ना लक्ष्य र उद्देश्यको पहिचान विश्वविद्यालयबाट गरेको भन्दै विद्यार्थी केवल प्रमाणपत्र प्राप्त गर्ने कुरामा मात्र सीमित नभइ परिचय निर्माण र शीप विकासमा पनि केन्द्रित हुन उनले सुझाव दिए ।
पश्चिमाञ्चल फाउण्डेशनका अध्यक्ष प्राडा रामनाथ ओझाले लेकसिटी कलेज पोखराको नमुना शैक्षिक संस्थाको रुपमा विकास हुन सकेको बताए । कलेजमा विद्यार्थीको भर्ना, शैक्षिक गतिविधि र परिणामले समयसापेक्ष शिक्षा दिन लेकसिटी सफल रहेको ओझाले बताए ।
क्याम्पस प्रमुख नारायण श्रेष्ठले विभिन्न गतिविधिबारे प्रकाश पार्दै विगतमा भर्ना भएका विद्यार्थी जस्तै नयाँ विद्यार्थी पनि शैक्षिक र अतिरिक्त गतिविधिमा सक्रिय रहने विश्वास व्यक्त गरे ।
कलेजको हरेक गतिविधिलाई अघि बढाउन विद्यार्थीको सक्रियताले प्रमुख भूमिका खेल्ने भएकाले प्रशासन नयाँ सोच अनुरुप क्रियाशील भइरहेको उनको भनाइ थियो ।
सहायक क्याम्पस प्रमुख शोभकान्त सिग्देलले विद्यार्थीलाई अनुशासित भएर कलेजका सबै कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरे ।
कलेजका विद्यार्थी विज्ञानराज सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सुमिना पुन र ओशिन बरालले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुतिका रुपमा गायन, नृत्य र हास्यव्यंग्य पस्केका थिए भने कलेजले आयोजना गरेको स्पोर्टस् मिटका विजयी खेलाडीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा शिक्षक र विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमना शिक्षक सुरेशराज ढकाल, रोशिना कुँवर र सुशन थापा छन् ।
यस्तै शिक्षक विष्णुप्रसाद अधिकारी र कल्पना आचार्य अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
त्रिविविको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बीए र बीबीएस चौथो वर्षका विद्यार्थीद्वय सुजता ढकाल र विक्रम थारुलाई विद्यार्थी सम्मानद्वारा सम्मान गरिएको थियो ।
त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।
कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।
Copyright © 2024 | All rights reserved.