0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवं भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् ।
प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश पोखराको चौथो वार्षिकोत्सव समारोहमा भट्टले आयोगले यस्तो बताएका हुन् ।
उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण राख्नु आयोगका लागि चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे ।
उनले भने, ‘देश संघीय संरचनामा रूपान्तरण भएसँगै जारी हुनुपर्ने संघीय निजामती सेवा ऐन जारी नभएको विषम परिस्थितिमा पनि प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगबाट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनाेट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह हुँदै आएको छ ।’
पाठ्यक्रमलाई आवधिक रुपमा परिमार्जन एवं अध्यावधिक गर्ने, परीक्षा प्रणालीमा सामयिक सुधार गर्ने जस्ता विधि र प्रक्रिया अवलम्बन गरी उम्मेद्वारको परीक्षण र छनौट प्रणालीको गुणस्तरीयता कायम गर्दै योग्यता प्रणालीको संरक्षण गर्नमा प्रदेश लोकसेवा आयोग निरन्तर क्रियाशील रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
प्रदेश प्रमुख भट्टले संविधान र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यको अलावा स्मारिका प्रकाशन जस्ता रचनात्मक कार्यसमेत गरेको भन्दै उनले आगामी दिनमा पनि नियमित कार्यको प्रभावकारिता अभिवृद्धि गर्दै थप रचनात्मक कार्य गर्न उत्प्रेरणा र सफलता मिल्ने विश्वास व्यक्त गरे ।
प्रदेश प्रमुख भट्टले लोक सेवा आयोग गण्डकी प्रदेशले प्रकाशित गरेको स्मारिका समेत लोकार्पण गरे ।
प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश पोखराका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, विपक्षी दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टलगायतले बोलेका थिए ।
उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट उपसचिव दामोदर सुवेदीलाई १० हजार रुपैयाँ नगद र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो । यस्तै आयोगको लोगो निर्माण गर्ने जगदीश्वर पाण्डेलाई ४० हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.