0
प्रतिक्रिया
पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारी भइरहेको बताएका छन् । पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन् ।
प्रशासकीय भवन बनाउन करिब दुई अरब रुपैयाँ लाग्ने उनको भनाइ छ । यसका लागि स्रोतको खोजी भइरहेको र सरकारका अर्थमन्त्रीसँग पनि कुरा भइरहेको आचार्यले बताए ।
उनका अनुसार उच्च अदालत पोखराको अगाडि ४० रोपनी जग्गामा महानगरको प्रशासकीय भवन बनाउने तयारी छ ।
सुविधासम्पन्न कार्यालय भवन निर्माणले प्रशासनिक कार्यलाई चुस्त बनाउनुका साथै नागरिकलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा दिन मद्दत गर्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे । स्थानीय सरकारको प्रभावकारिता जनता माँझ अझै मजबुत बनाउने लक्ष्यसहित भवन निर्माण गरिएको उनले स्पष्ट पारे ।
आचार्यले भने, ‘कतिपयले वडालाई ठूला भवन किन चाहिन्छ भनेर प्रश्न गर्छन् तर ठूला भवनले नै जनताका सेवा प्रवाहमा सहजता ल्याउँछ ।’
आचार्यका अनुसार अब पोखरामा वडा नं ६ र ९ को भवन बन्न बाँकी छ भने केही वडाका भवन निर्माणाधीन अवस्थामा छन् । महानगरमा थपिएका वडाहरुको विकासमा पनि विशेष ध्यान दिइएको आचार्यले उल्लेख गरे ।
उनले भने, ‘विकासका हिसाबले १ देखि १७ सम्मका र अन्य वडा फरक प्रकृतिका छन्, सबै वडालाई एउटै प्रकृतिको बनाउन प्रयास गरिएको छ ।’
आचार्यले पोखराको न्यूरोडलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको समेत जानकारी दिए । पोखराको फोहोर व्यवस्थापन सम्बन्धमा नयाँ वर्षदेखि नयाँ ढंगले नै अघि बढ्ने उनले स्पष्ट पारे ।
महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालय नजिकको सरकार भएको बताइन् । उनले महानगरले वडालाई धेरै भन्दा धेरै अधिकार दिएको भन्दै वडाले नै नै ५० लाखसम्मको योजना अघि बढाउन पाउने अधिकार रहेको स्पष्ट पारिन् । महानगरपालिका वडावासी र वडा कार्यालयकै सल्लाह र सुझावका आधारमा अघि बढ्ने उनले बताइन् ।
पोखरा-८ का वडाध्यक्ष रूद्रनाथ बरालले वडा कार्यालय पोखराकै मुटु भएको बताए । उनले १५ आनाको जग्गामा महानगरको ४० र तत्कालीन जिल्ला विकास समितिको ६० प्रतिशत बजेटबाट वडाभवन निर्माण गरिएको बताए । वडा कार्यालय लिफ्टसहितको बनेको उनको भनाइ छ ।
नयाँ कार्यालय भवन सञ्चालनमा आएपछि नागरिक सेवा प्रवाह थप सहज भएको उनको भनाइ छ । वडाको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने भन्दै उनले नयाँ भवनले नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउने दावी गरे । स्थानीय सरकारको प्रभावकारी कामका लागि भौतिक संरचनाको विकास अपरिहार्य रहेको उनको भनाइ छ ।
यस भवनबाट वडावासीले सबै प्रकारका प्रशासनिक सेवा सहज रूपमा पाउने छन् । स्थानीय तहको सेवा प्रभावकारी बनाउन डिजिटल प्रणालीसमेत लागू गरिने बराले बताए ।
कार्यक्रममा पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, एमाले पोखरा–८ का अध्यक्ष दीपकराज घिमिरे, राप्रपा पोखरा ८ का अध्यक्ष का बाबुराम चालिसे, हातेमालो आमा समूहका अध्यक्ष अपीला बराललगायतले बोलेका थिए ।
वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडासदस्य पवित्रा पौडेल केसीले र सञ्चालन वडासचिव झंकनाथ पौडेलले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.