0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा आयोजित स्वास्थ्य शिविरमा करिब तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
आयुर्वेद तथा वैकल्पिक ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको शुभारम्भ गर्दै पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोग देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परीक्षण गर्न आग्रह गरे ।
वडाध्यक्ष थापाले रोगका कारण पनि ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले फरक व्यवहार गर्ने गरेको उल्लेख गर्दै, ज्येष्ठ नागरिक मैत्री व्यवहार गर्नसमेत आग्रह गरे ।
वडा विकासको मानक भौतिक पूर्वाधार मात्र नभएको उल्लेख गर्दै थापाले नागरिक स्वस्थ र सुखी छन् कि छैनन् भन्ने अर्थले पनि निर्धारण गर्ने बताए ।
ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र र त्यसमा खाजाको व्यवस्था गरिएको भन्दै उनले दिवा सेवा केन्द्र सुधारका लागि वडाले बजेट विनियोजन गरेर अघि बढिरहेको बताए ।
गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले ज्येष्ठ नागरिक स्वस्थ रहे ज्ञान र सिप दोस्रो पुस्तामा हस्तान्तरण हुने बताए ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य तीर्थबहादुर राजभाट, जल्धारे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरि ढुंगाना, जल्धारे टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगाना, नमूना महिला समूहका सहसचिव कल्पना लामिछाने ढुंगाना, स्वास्थ्य महाशाखाका कर्मचारी सरिता अधिकारी देवकोटालगायतले बोलेका थिए ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजना वडा नंं २६ को समन्वय र गण्डकी आयुर्वेद अस्पताल अर्घौँको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको थियो ।
शिविरमा आयुर्वेद अस्पतालका चार जना चिकित्सकसहितको टोलीले सहजीकरण गरेको थियो । शिविरमा ६ देखि ९२ बर्षसम्मका नागरिकको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.