0
प्रतिक्रिया
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरुआत भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइट पोखरामा ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाजले भरेको छ । याेसँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।
जहाजमार्फत एक सय सात यात्रु पोखरा आएका छन् । जसमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक छन् । यात्रुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लगायतले स्वागत गरे ।
जहाज मंगलबार ल्हासाका लागि उड्ने छ । हिमालयले पोखरा-ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने गरी उडान थालेको हो । यात्रु सङ्ख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ ।
यस उडानले पोखरेलीमा नयाँ उत्साह र यस क्षेत्रको पर्यटनमा नयाँ आशा थपेको नगर प्रमुख आचार्यले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको करिब दुई वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकोमा खुसी व्यक्त गर्दै उनले यसले पोखरा अन्तर्राष्ट्रिय बजारसँग सिधा जोडिने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यसको निरन्तरतामा जोड दिए ।
पर्यटन राज्यमन्त्री चौधरीले यसले पोखरा र समग्र यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
केही दिन अघिमात्रै छेन्दु-पोखरा चार्टर उडानसमेत सञ्चालनमा आएको थियो । चिनियाँ पर्यटकलाई लक्षित गर्दै गरिएको यो उडानले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ । चीनबाट पोखरासम्मको हवाई सम्पर्क विस्तार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने विश्वास गरिएको छ ।
Copyright © 2024 | All rights reserved.