0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ नागढुंगास्थित नेशनल क्रियशन एकेडेमीले युकेजीमा अध्ययनरत ५५ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।
विद्यालयले दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी युकेजीका विद्यार्थीलाई दीक्षित गरेको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापा, संस्थापक प्राचार्य ज्ञानेन्द्रबहादुर थापा, संस्थापक प्रशासक विक्रम थापा र सीसीए इन्चार्ज सुदामा रेग्मीले विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
उक्त अवसरमा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट, विभिन्न गतिविधिका साथै खेलकुदमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
उक्त अवसरमा विद्यार्थीले गीत, नृत्यलगायतका विभिन्न सांगीतिक र मनोरञ्जनात्मक प्रस्तुति राखेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले पुरस्कारले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने र यसले विद्यार्थीको अध्ययनमा सघाउने बताए ।
प्राचार्य थापाले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका बताए ।
विद्यालयलाई उत्कृष्ट बनाउन र विद्यार्थीलाई धेरै भन्दा धेरै ज्ञान दिलाउन सक्दो प्रयत्न गर्ने उनले प्रतिवद्दता जनाए ।
उनले विद्यार्थीलाई समय परिवेश अनुसार गुणस्तरीय र प्रविधि तथा सीपयुक्त शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे ।
प्रशासक थापाले एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको बताए । उनले विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकास ध्यानमा राख्दै उच्च स्तरीय शिक्षण विधिको प्रयोग गरिएको जानकारी दिए ।
अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रशासक विक्रम थापा र सञ्चालन सीसीए इन्चार्ज सुदामा रेग्मीले गरेका थिए ।
नेशनल क्रियशन एकेडेमी १८ वर्ष अघि स्थापना भएको हो । विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । विद्यालयमा हाल चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।
Copyright © 2024 | All rights reserved.