बैशाख ०४, २०८२, बिहीबार

कास्की ल्वाङ गाउँमा ऐतिहासिक चैते दशैं मेला


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१औँ चैते दशैं मेला सुरु भएको छ ।

‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रीनहिल क्लबद्वारा आयोजित मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे ।

कार्यक्रममा उनले चिया खेतीका कारण मिनी इलामका रुपमा परिचित ल्वाङ गाउँ आफैमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए ।

युवा सक्रियतामा विगत लामो समयदेखि चैते दशैँ मेला आयोजना गरिँदै आइएको उल्लेख गर्दै आम युवा माँझ सकारात्मक सोचको अभिबृद्धि वर्तमानको आवश्यकता भएको बताए ।

हाम्रो अपेक्षा विद्यमान सीमित स्रोत साधन भन्दा बढी भएका कारण सबै समस्या एकैपटक समाधान हुन सम्भव नभएको भन्दै उनले समयसँगै समस्या क्रमशः समाधान हुँदै जाने बताए ।

देशमा केही भएन भन्ने भन्दा पनि भइरहेका काम हेरेर हामी स्वयं सकारात्मक बन्न जरुरी रहेको र युवामा सकारात्मक सोच निर्माण गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

पर्यटकीय गन्तव्यको रमणीय ल्वाङ गाउँ आन्तरिक साथै वाह्य पर्यटकको गन्तब्य भएको उनले उल्लेख गरे ।

यस क्षेत्रका पूर्वाधार विकासका लागि प्रदेश सरकारको निरन्तर साथ र सहयोग रहने मन्त्री केसीको भनाइ छ ।

पर्यटकीय गाउँहरू धम्पुस र ल्वांगलाई मितेरी सम्बन्ध लगाउन चालु आ.ब.मा घट्टेखोला धम्पुस सडकको ठेक्का व्यवस्थापन भएर सम्झौता भइसकेको जानकारी दिँदै उनले अब छिट्टै नै घट्टेखोला धम्पुस सडकमा निर्माण व्यवसायीले कार्य आरम्भ गर्ने र यी दुई गाउँको भगिनी सम्बन्ध स्थापित बन्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुुरुङले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए ।

सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने गरी विधेयक अघि बढाएको बताउँदै उनले आगामी दिनमा घरेलु मदिरा कसरी गुणस्तरीय बनाउने हो त्यसतर्फ लाग्न पनि सुझाए ।

ग्रीनहिल क्लब अध्यक्ष सुजन गुरुङले गाउँको पर्यटन प्रवर्न एवं संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जानकारी दिए ।

उक्त अवसरमा ल्वाङ गाउँमा प्राचीन कालदेखि सञ्चालन हुँदै आएको कटुवाल प्रथालाई निरन्तरता दिन आफ्नो जीवनको ५५ वर्ष समय योगदान गरेका ज्येष्ठ नागरिक हस्तबहादुर परियारलाई क्लबका तर्फबाट दोसल्ला र सम्मापत्र प्रदान गर्दै मन्त्री केसीले सम्मान गरेका थिए ।

उक्त अवसरमा सडक निर्माणका क्रममा आवश्यक जग्गा दान गर्ने जग्गादातालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले कास्कीका उपसचिव लालबहादुर परियार, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, ल्वाङ समिति अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वांगका प्रमुख लेखनाथ गौतमलगायतले बोलेका थिए ।

आगामी चैत २७ गतेसम्म चल्ने मेलामा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितालगायत विभिन्न सांकृतिक कार्यक्रम हुने जनाइएको छ ।

Copyright © 2024 | All rights reserved.