0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ कालाबाङ घरेडी गाउँमा लिफ्टिङ खानेपानी परियोजना डेढ महिनामा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।
गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) को ३८ लाख आठ सय ८५ र स्थानीयको पाँच लाख लगानीमा खानेपानी परियोजना सम्पन्न भएको हो । खानेपानी परियोजनाबाट एक सय घर परिवार लाभन्वित भएका छन् ।
गन्जेखोलास्थित ढुंगेधाराको पानी लिफ्टिङ प्रविधिबाट एक हजार तीन सय ७० मिटर उचाइमा लगेर गाउँलेलाई वितरण गरिएको हो ।
ढुंगेधाराको पानीलाई १० घन मिटर क्षमताको पानी टंकीमा संकलन गरी गाउँको सिरानमा रहेको सिम्लेच्योमा २० घन लिटर खानेपानीको टंकीमा लिफ्टिङ प्रविधिबाट लगिएको गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) अन्तरगत खानेपानी विभागका प्रोजेक्ट मेनेजर कृष्णबहादुर सुब्बाले बताए ।
कार्यक्रममा वडासदस्य सञ्जीव गुरुङले लिफ्टिङ खानेपानी योजनाको संरक्षण र संबर्द्धन गरी नमुना बनाउनुपर्ने बताए ।
छहरे न्हेमे कालाबाङ खानेपानी उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले प्रयोग गर्दै आएको पानी चैत वैशाख महिनाको सुख्खा मौसममा खानेपानीको अभाव भएकोमा यो योजनाले अभावको पूर्ति गर्ने समिति अध्यक्ष यामबहादुर गुरुङको विश्वास छ ।
कार्र्यक्रममा गन्जेखोला कालाबाङ घरेडी लिफ्टिङ खानेपानी उपभोक्ता समिति सल्लाहकार प्रकाशचन्द्र गुरुङ, निवेदक राजबहादुर गुरुङलगायतले बोलेका थिए ।
उपभोक्ता समिति अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत र संचालन उपाध्यक्ष ध्रुवराज पौडेलले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.