0
प्रतिक्रिया
पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एथलेटिक्स खेलाडीको खेल स्तर र उन्नतिका लागि नियमित प्रशिक्षणसँगै जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको एथलेटिक्स संघले आगामी चैत्र २९ र ३० गते पोखरामा पोखरा ओपन एथलेटिक्स मिट २०२५ को आयोजना गर्न लागेको संघले जनाएकाे छ ।
जिल्ला एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले आगामी चैत्र २९ र ३० गते पोखरामा एथलेटिक्स मिट २०२५ को आयोजना गर्न लागेको र त्यसको सम्पूर्ण तयारी पूरा भएको बताए ।
नेपाली एथ्लेटिक्स खेल जगतको ईतिहासमै प्रथम राष्ट्रिय खेलकुद २०३८ सालदेखि विसं २०७९ मा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्म गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उनको भनाइ थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्समा गण्डकी प्रदेशबाट १ स्वर्ण, १ रजत र २ काश्य पदक जित्न सफल भएको बताउँदै अध्यक्ष गुरुङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याराथनमा स्वर्ण, महिला ४ इन्टु १ सय मिटर रिलेमा रजत, हाईजम्प महिला र लङजम्प पुरुषमा काश्य पदक जित्न सफल भएको वताए ।
प्रतियोगिताबाट कर्णाली प्रदेशमा हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्ला हुँदै प्रदेशका लागि पदक दिलाउन योग्य बनाउने उद्देश्यका साथ प्रतियोगिताले गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीको मात्र नभई देशैभरिका एथलेटिक्स खेलाडीले आफ्नो खेल कौशलता प्रदर्शन गर्दै खेलको अनुभव र मनोवल उच्च बनाउने लक्ष्य लिएको गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न १२ विद्या रहेका छन । जसमा पुरुष र महिलातर्फ दौडतर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ४ इन्टु सय मिटर रिले, लङजम्प, ट्रिपल जम्प, हाइ जम्प, सट पुट, ज्याभलिन थ्रो र कास्की जिल्ला भित्रको विद्यालय स्तरीय १०० मिटर दौड रहेको जिल्ला एथलेटिक्स संघ कास्कीका सचिव सिद्धान्त अधिकारीले बताए ।
प्रतियोगितामा १२ वटै विद्यामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश नगद पाँच हजार, तीन हजार र दुई हजार र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई १०/१० हजार पुरस्कार प्रदान गरिने बताउदै अधिकारीले त्यस्तै उदयीमान खेलाडी दुईजनालाई विशेष पुरस्कारको ब्यवस्था गरिएको समेत बताए ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित १० लाख खर्च हुनेछ । प्रतियोगितामा नेपाल भरका खेलाडीले कुनै पनि विभागीय क्लब, प्रदेश, जिल्ला, संघसंस्था, विद्यालय, क्याम्पस साथै ब्यक्तिगत पनि नाम दर्ता गरि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.