0
प्रतिक्रिया
पोखरा । भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.वि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा-३१ बेगनासस्थित आनन्द ज्योति माविका पूर्व विद्यार्थीको संस्था भू.पू.विद्यार्थी मञ्चले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच २०८२ सालको भित्तेपात्रो विमोचनका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडासदस्य देबेन्द्रराज अधिकारीले पछिल्लो समय समाज नकारात्मकता तिर अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै बौद्धिक बर्गले सकारात्मक पक्षहरूलाई जोड दिएर समुन्नत समाज निर्माणमा भुमिका खेल्न सक्नु पर्नेमा जोड दिए ।
केही भएन, हुँदै हुँदैन जस्ता कुराले समाजलाई झन् बिग्रहमा लैजान सक्ने भन्दै उनले समाजसेवामा अघि बढेका पाईलाहरुलाई उत्साहित गराउन सक्नुपर्ने बताए । सामाजिक काममा भू.पू. विद्यार्थी मञ्चले देखाएको अग्रसरता उदाहरणिय रहेको उनको भनाई थियो ।
अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक स्कुलमा पढ्न पठाउदा उनीहरुको बाल अधिकार कै हनन हुने हो कि भन्ने जस्तो अवस्था बनेकोमा चिन्ता व्यक्त गर्दै अधिकारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गराउन सबैले आआफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे ।
मञ्चका संस्थापक एवं निबर्तमान अध्यक्ष नवराज अधिकारीले आनन्द ज्योति मा.वि. मा अध्ययन गरेका पुर्व विद्यार्थीहरुलाई गोलबन्ध र संगठित गर्ने उद्देश्यका साथ स्थापना गरिएको मञ्चले आफ्ना नियमित गतिविधिलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे । आफू संस्थापक अध्यक्ष भएको नाताले पनि मञ्चका हरेक काममा आफ्नो पुर्ण साथ रहने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा आनन्द ज्योति मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तीर्थराज अधिकारीले बार्षिक कार्यक्रमको रुपमा भित्तेपात्रो प्रकाशन गरेर संस्थालाई चलायमान राखेकोमा प्रशंसा ब्यक्त गर्दै अझै रचनात्मक कार्यक्रम गर्न सुझाव दिए ।
मञ्चका अध्यक्ष विकास प्रसाद कंडेलले भित्तेपात्रो प्रकाशनको लागि आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने सबै सहयोग दातहरुलाई आभार प्रकट गरे ।
मञ्चका अध्यक्ष कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानध्यापक शिवराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारी, सल्लाहकार चन्द्रबहादुर सुबेदी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-३१ का सभापति केदारनाथ अधिकारी, मञ्चका निबर्तमान सचिव श्रीराम कंडेललगायतले बोलेका थिए ।
भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक कृष्णराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.