बैशाख ०६, २०८२, शनिबार

हाइकर्स क्लबको ५७औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा


Advertisement Image
clock icon 4 days, 17 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्यमध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य ।

तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू झुलिरहेका देखिन्थे ।

हाइकर्स क्लब नेपालसँग आवद्ध भई उक्त संस्थाको आयोजनामा त्यहाँ पुगेका व्यक्ति कोही तस्बिर खिचाउँदै थिए त कोही सेल्फीमा व्यस्त देखिन्थे ।  

स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ प्रत्येक महिनाको अन्तिम शनिबार पर्यटन राजधानी पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले ५७औँ श्रृङ्खला भिमादको घाङ्च ल्हुममा सम्पन्न गरेको हो । 

घाङच ल्हुमसँगै क्लबले यस श्रृङ्खलामा यसै क्षेत्रका सिद्ध गुफा र चमेरे गुफालाई पनि समेटेको हाइकर्स क्बल नेपालका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

बिभिन्न सामाजिक सञ्जालकै माध्यमबाट घाङ्च ल्हुमबारे जानकारी पाएसँगै आँफूहरूले यस श्रृङ्खलामा यस गन्तव्यलाई समेटेको उनले जानकारी दिए ।

“क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार यस्तै नयाँ नयाँ पर्यटकीय गन्तव्यलाई लक्षित गरी हाइकिङका कार्यक्रम सञ्चालन गरिहेको छ”, उनले भने, “हरेक हाइकिङका कार्यक्रम तत्तत् ठाउँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण बन्दै गएका छन् ।”

अग्ला अग्ला ढुङ्गा, जसका तल छपक्क मिलाएर ढुङ्गा छापेर पैदल हिंड्ने बाटा निर्माण गरिएको छ भने चराचुरुङ्गीका लागि ठाउँ ठाउँमा गुँड र पानी खानका लागि सानासाना पोखरी पनि बनाइएको छ । पार्क पसिरमा नै काठबाट निर्माण गरिएको चम्राली पिंग पनि छ ।

यहाँ आउने जो कोही पर्यटकले उक्त दृश्यलाई प्राचीन विश्वका सात आश्चर्यका रुपमा लिइने बेबिलोनको झुलन बगैँचासँग तुलना गरेर हेर्ने गरेका छन् । 

इशापूर्व छ सयमा राजा नेबुचाडनेजारले आफ्नी रानी खुसी पार्न निर्माण गरिएको झुलन बगैंचाको स्वरुप यस्तै किसिमको रहेको इतिहासका पुस्तकमा राखिएका तस्बिरमार्फत जान्न र बुझ्न पाइन्छ ।

विगतमा प्रचारप्रसार र बुझाइका कारण ओझेलमा परेको यो गन्तव्यलाई पछिल्लो समयमा भने संरक्षण र प्रवर्द्धन गर्न थालिएको भिमाद नगरपालिका वडा नं ९ का वडाध्यक्ष रनबहादुर थापाले जानकारी दिए । 

मोहरियास्थित सामुदायिक बनमा अवस्थित घाङ्च ल्हुम बनको भित्री भागमा छ । घाङ्च ल्हुमलाई साजसज्जा गरेर चिटिक्क पारेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको उनले बताए । 

मगर जातिको बाहुल्यता रहेको यस स्थानमा रहेको घाङ्च ल्हुम पनि मगर भाषाकै शव्द हो । मगर भाषमा घाङ्च ल्हुमको अर्थ अग्लो ढुुङ्गा हुन्छ । अग्ला ढुङ्गा रहेकै कारण यसलाई घाङ्च ल्हुम भनिएको यहाँका स्थानीयवासी बताउँछन् । 

अग्लाअग्ला ढुङ्गालाई चटक्क सिंगारेसँगै विगतमा उपेक्षा गरिएका यी ढुङ्गाले देश विदेशका मानिस आकर्षित गर्दा आँफू निकै खुसी बनेको स्थानीयवासी भक्तबहादुर थापाले बताए ।

वडाध्यक्ष थापाका अनुसार २०७७ सालमा गण्डकी प्रदेश सरकारको सहयोगमा सो मातहतको डिभिजन वन कार्यालय तनहुँले यस स्थाललाई पार्कका रुपमा निर्माण गरिदिएको हो । 

गण्डकी प्रदेशको २० लाख रुपैयाँ सहयोगसँगै स्थानीयको १० प्रतिशत लागत साझेदारीमा निर्माण भएसँगै यो ठाउँले काँचुली फेरेको उनको भनाइ छ । 

यसलाई बगैंचाको रुप दिन ढुङ्ग वरपरको बुट्यान तथा झाडी फाँडिएको थियो । झाडी फाँडिएसँगै आकर्षण देखिएका अग्ला ढुङ्गाको बीच तथा वरपर ढुङ्गा छापेर हिड्ने पैदल मार्ग निर्माण गरिएको छ । 

यस्तै परिसरमा धूपीका विरुवा रोप्नुका साथै ढुङ्गाको बीच बीचमा चराचुरुङ्गीका लागि गुँड र पानी पिउने साना पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने किसिमको संरचना पनि बनाइएको छ । 

यी सबै दृश्यका कारण पछिल्लो समयमा यो स्थान सामाजिक सञ्चालमार्फत चर्चामा आएको हो । भिमाद बजारबाट जम्मा १३ किलोमिटरको दुरीमा सवारी साधनमार्फत यस ठाउँमा आउन सकिन्छ । 

घाङ्च ल्हुमसँगै यस क्षेत्रमा रहेका चमेरे गुफा एवं सिद्ध गुफाको पनि प्रवर्द्धनात्मक भ्रमण गरिएको हाइकर्स क्लब नेपालका सदस्य एवं सामाजिक सञ्जाल संयोजक प्रितम शेन ठकुरीले जानकारी दिए ।

मोहोरिया क्षेत्रका घाङ्च ल्हुमसँगै सिद्ध गुफा र चमेरे गुफालाई व्यवस्थित गर्न सकेमा यहाँ ठूलो संख्यामा पर्यटक ल्याउन सकिने उनले बताए ।

भिमाद क्षेत्रमा रहेका धेरै गन्तव्य प्रवर्द्धनको पर्खाइमा रहेको यहाँका स्थानीयवासी बताउँछन् । 

घाङ्च ल्हुम, सिद्ध गुफा, चमेरे गुफा, पाथर्दी झरना जस्ता धेरै स्थलको  पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने नेपाली काँग्रेस तनहुँ क्षेत्र नं २ का सभापति चूडामणि खनाल बताउँछन् । 

पर्यटकीय स्थलको प्रवर्द्धनसँगै पर्यटकको आगमन बढाउन सकेमा त्यसले स्थानीय उत्पादनको बजारीकरणसँगै स्वरोजगार अभिवृद्धिका धेरै अवसर भित्र्याउन सकिने उनको भनाइ छ ।

Copyright © 2024 | All rights reserved.