0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकास्थित प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ ।
प्रतिष्ठानमार्फत भइरहेका काममा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि अवलोकन भ्रमण गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताए ।
पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको उनको भनाइ छ ।
भ्रमणले स्थानीय तहमा गठित प्रज्ञा प्रतिष्ठानलाई थप बलियो र गतिशील बनाउन आवश्यक सहकार्य गर्ने वातावरण निर्माण गरेको उनको भनाइ छ ।
प्रतिष्ठानको टोली पुतलीबजार प्रज्ञा प्रतिष्ठानमा पुग्दा कुलपति विश्वप्रेम अधिकारीले प्रतिष्ठानको हालको अवस्था र गरिएका कार्यको बारेमा अवगत गराए ।
प्रतिष्ठानका अवलोकन टोली समक्ष कुलपति, उपकुलपतिका लागि आवश्यक कक्ष आवश्यकता परेको भन्दै उनले प्रतिष्ठानका लागि बजेटसमेत अभाव रहेको सुनाए ।
पहिलो वर्ष दुइ लाख बजेट छुट्याइएकोमा यो वर्ष पाँच लाख रुपैयाँ बजेट रहेको नियमित गतिविधि गर्नका लागि त्यो पर्याप्त नभएको उनले उल्लेख गरे ।
राजनीतिक दलका प्रतिनिधिलाई प्रतिष्ठानमा प्रतिनिधित्व गराउनुभन्दा विधागत विज्ञलाई प्राज्ञ बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उपकुलपति दुर्गाबहादुर शाह बाबा, प्राज्ञ राजेन्द्रकुमार श्रेष्ठ, सम्झना थापा र हिमलाल पुरी सहभागी थिए ।
गल्याङ प्रज्ञा प्रतिष्ठानमा प्रमुख संरक्षकसमेत रहेका नगर प्रमुख गुरुप्रसाद भट्टराई, गल्याङ प्रज्ञा प्रतिष्ठान अध्यक्ष चण्डिका प्रसाद भट्टराईलगायतले प्रतिष्ठानका गतिविधि र आगामी योजना बारे चर्चा गरेका थिए ।
अध्यक्ष भट्टराईले बजेट न्यून भएको र प्रतिष्ठानका लागि कार्यालय व्यवस्थापन हुन नसकेको गुनासो गरे । उनले प्रतिष्ठानलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै छोटो समयमा भएका केही गतिविधिले आशा जागेको उल्लेख गरे ।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राज्ञसभा सदस्य डिल्लीराम भण्डारी, शिक्षा शाखा प्रमुख तथा प्रतिष्ठानका पदेन सदस्य हिमलाल भण्डारीलगायत सहभागी थिए ।
भ्रमण टाेलीले गैंडाकोट प्रज्ञा प्रतिष्ठानमा कुलपति गोविन्दराज विनोदीसहित पूर्वकुलपति तथा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपकुलपति भीमप्रसाद शर्मा, सङ्गीत विभाग प्रमुख अम्मर विरही गुरुङ, प्राज्ञ परिषद् सदस्य गोविन्द कोइरालालगायतसँग अन्तरक्रिया गरेकाे हाे ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपति सूर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्सचिव मनकुमार श्रेष्ठ, प्राज्ञ कृष्णप्रसाद पौडेल, डीलकुमारी पौडेल, छन्दिका त्रिपाठी, शंकर विरही गुरुङ, राजेन्द्र सापकोटा, राजबहादुर गुरुङ, सरला पाण्डे, गम बहादुर गुरुङलगायत सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.