0
प्रतिक्रिया
पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी २० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको ११औँ दिन समूह ‘डी’ तर्फ मंगलबार भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई चार विकेटले हराएको छ । एक सय ४० रनको विजयी लक्ष्य पाएको अत्तरियाले १८दशमलव२ ओभरमा छ विकेट गुमाउँदै एक सय ४१ रन बनायो ।
ओपनर अभिषेक पललाई शून्यमै गुमाएको अत्तरियाका लागि दोस्रो ओपनर विपिन रावलले इनिङ उकास्ने प्रयास गर्दा २६ रनमा आउट भए । चौथो विकेटका लागि क्रिजमा पुगेका टेक रावतले उत्कृष्ट प्रदर्शनी गर्दै ६१ रनको अविजित पारी खेले ।
उनले ४२ बलमा नौ चौका र एक छक्का प्रहार गरे । हिकमत महर १३ रनमा अविजित रहे । उनले आठ बलमा तीन चौका प्रहार गरे । निश्चल क्षेत्री पाँच, अर्जुन विक १६, खगेन्द्र जोशी आठ र वसन्त खत्री एक रनमा आउट भए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले दुई/दुई तथा महेश भार र निर्मल गुरुङले एक-एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९दशमलव१ ओभरमा १० विकेट गुमाउँदै एक सय ४० रन बनायो ।
होरिजोनको सुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई शून्यमा गुमाएको होरिजोनका लागि चौथो विकेटका लागि आएका कमल विष्टले इनिङ उकास्ने काम गरे । विष्टले ३९ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ४६बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
विप्रस केसीले ३५ रन बनाउँदै नटआउट रहे । उनले १५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । नरबहादुर सार्की २७ रनमा आउट भए । उनले १३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।
निर्मल गुरुङले १३ रन जोडे । ओपनर निश्चल ज्ञवाली र अमर मिश्र शून्यमै पेभिलियन फर्किए । सुमन पाण्डे एक, तुुलबहादुुर थापा चार, आरिफ खान पाँच, महेश भार एक र सुुवम खनाल तीन रनमा आउट भए ।
अत्तरियाका लागि बसन्त खत्रीले एक दशमलव एक ओभरमा चार रन दिँदै तीन विकेट लिए । भोजराज भट्टले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । सुशिल साउदले दुई तथा हिकमत महर र अर्जुुन विकले समान एक/एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच टेक रावत घोषित भए ।
मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई चार विकेटले हराएको छ । एक सय २९ रनको विजयी लक्ष्य पाएको मालपोखरीले १७दशमलव३ ओभरमा छ विकेट गुमाउँदै एक सय ३१ रन बनायो । ओपनर आतिश दासलाई नौ रनमा गुमाएको मालपोखरीका लागि तेस्रो विकेटका लागि क्रिजमा आएका विजय गुुप्ताले ५९ रनको उत्कृष्ट पारी खेल्दै रन आउट भए ।
उनले ४६ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । डब्लुमलिक १० रनमा आउट भए । सोहन कुमार यादव १३, रनभिर यादव १४ र जितेश मन्डल शून्यमा आउट भए भने चन्दन यादव र आशिष सिग्देल समान चार रनमा नटआउट रहे । सुन्दर हरैचाका लागि समीर कार्कीले दुई तथा सन्दिप ढुंगाना, प्रकाश कार्की र ओमकार यादवले एक/एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको सुन्दर हरैचाले २० ओभरमा एक सय २८ रन बनाउँदै अलआउट हुन पुुग्यो । समिर कार्कीले ३१ रन बनाए उनले १९ बलमा दुई चौका तीन छक्का प्रहार गरे । मिर्नल गुरुङ १९, मनिष थापा १०, रुपक बराल १७, गौरव कटवाल १४ सन्दिप ढुंगाना १४ रनमा आउट भए ।
ओपनर रितेश राय एक, रोहन शाह पाँच, ओमकार यादव एक, समीर तिम्सिना दुई रनमा आउट भए । मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले दुई-दुई तथा सनिदप खड्का, पंकज यादव र सोहन कुमार यादवले समान एक–एक विकेट लिए ।
मालपोखरीका विजय गुप्ता प्लेयर अफ दी म्याच घोषित भए । दुई खेलमा दुई जित हासिल गरेको अत्तरिया चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
दुई खेलमा एक जित एक हारसहित दुई अंक रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा मालपोखरी तेस्रो स्थानमा छ ।
सुन्दर हरैचा दुई खेलमा दुई हारसहित तालिकाको पुछारमा छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार समूह डी कै खेल हुनेछन् ।
पहिलो खेलमा होरिजोनले सुन्दर हरैचाको सामना गर्ने छ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ। समूहको शीर्ष टोली अन्तिम चारमा पुग्नेछ ।
Copyright © 2024 | All rights reserved.